काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले चीन भ्रमणबाट फर्किएपछि पार्टी सभापति रवि लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरेका छन्।
बिहीबार नेपाल फर्किएको २० सदस्यीय भ्रमण टोलीका नेता आचार्यले शुक्रबार सभापति लामिछानेलाई भेटेर भ्रमणका क्रममा भएका राजनीतिक भेटघाट, छलफल र अवलोकनबारे जानकारी गराएका हुन्।
नोभेम्बर १५ देखि २६ सम्म चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान, चच्याङ र बेइजिङको भ्रमण गरेको टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग भेटवार्ता गरेको थियो।
ब्रिफिङका क्रममा आचार्यले चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्ताबारे विशेष जानकारी गराएका थिए। उक्त भेटमा दुई पार्टीबीचको सम्बन्ध विस्तार, आपसी राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका विषयमा छलफल भएको उनले बताएका थिए।
त्यस्तै, केन्द्रीय तहदेखि काउन्टी तहसम्मका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भएका संवादबारे पनि आचार्यले जानकारी गराएका थिए।
भ्रमणका क्रममा विभिन्न उद्योग तथा व्यवसायको अवलोकन र अन्तरक्रिया गरिएको थियो। त्यसैगरी विपद्पूर्व तयारी, विपद् व्यवस्थापन र विपद्पछिको पुनर्निर्माण रणनीतिबारे भएका छलफल र अवलोकनका विषय पनि उनले सभापति लामिछानेलाई सुनाएका थिए।
भेटमा नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाबारे पनि खुलेर छलफल भएको आचार्यले जानकारी गराएका थिए।
भ्रमणका क्रममा भएका उच्चस्तरीय राजनीतिक संवाद, अनुभव र सिकाइलाई पार्टीभित्र तथा देश विकासका काममा उपयोग गर्न सभापति लामिछानेले निर्देशन दिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गएको रास्वपाको २० सदस्यीय टोली १२ दिन चीन भ्रमण गरेर बिहीबार नेपाल फर्किएको थियो।



प्रतिक्रिया