प्रधानमन्त्री बालेनको सन्देश बोकेर राष्ट्रपति भेट्न शीतल निवासमा रवि

प्रधानमन्त्री बालेनको सन्देश बोकेर राष्ट्रपति भेट्न शीतल निवासमा रवि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सामन्यता प्रधानमन्त्री कुनै देशको औपचारिक भ्रमणमा जानुअघि र आएपछि राष्ट्रपतिलाई ब्रिफिङ गर्ने परम्परा छ ।

तर वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहले मंसिर ६ र ७ गते भएको आफ्नो भारत भ्रमणबारेमा राष्ट्रपति रामचन्द्र पौडेलसँग कुनै किसिमको छलफल र परमार्श गरेनन्।

भ्रमणमा जानुअघि र आएपछि पनि उनले राष्ट्रपतिलाई कुनै महत्व दिएनन्। अझ उनी प्रधानमन्त्री भइसकेपछि राष्ट्रपतिसँग औ‍पचारिक मञ्चहरूमा भेट्नेबाहेक दोहोरो सम्वाद हुन सकेको छैन।

बरू वालेन्द्रले भारत भ्रमणका क्रममा त्यहाँकी राष्ट्रपति द्रौपती मुर्मूसँग लामो संवाद गरे। तर देशकै राष्ट्रपतिलाई बेवास्ता गरेको भन्दै उनको आलोचना भइरहेको छ। गत चैत १३ मा प्रधानमन्त्री भएयता वालेन्द्र र राष्ट्रपतिबीच संवादहीनताको अवस्था छ।

यस्तोमा शुक्रबार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री वालेन्द्रसँग बिहीबार करिब पाँच घण्टा लामो संवाद गरेका लामिछाने त्यसको भोलिपल्ट राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्। उनी प्रधानमन्त्री वालेन्द्रको सन्देश बोकेर शीतल निवास छिरेका हुन् ।

राष्ट्रपति कार्यालयको सचिवालयका अनुसार भेटमा सरकारको कामकारबाही, संसद् अधिवेशन, नयाँ अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। अर्थात्, रविले वालेन्द्रसँग संवादपछि सरकारकै एजेन्डा बोकेर राष्ट्रपति पौडेलसँग भेटेका हुन्।

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका आगामी कदमबारे शीर्ष तहमा संवाद भइरहेका बेला लामिछानेको राष्ट्रपति भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यो भेटमा रविले संसद् अधिवेशनअघि सरकारले केही अध्यादेश ल्याउन लागेकाले त्यसमा सहजीकरण गरेको बताइएको छ।

राष्ट्रपतिसँग संवाद नगरी भारत भ्रमण

प्रधानमन्त्री शाहले भारत भ्रमणमा जानुअघि राष्ट्रपति पौडेललाई भेटेर भ्रमणको उद्देश्य, कार्यसूची र राष्ट्रिय हितका विषयमा जानकारी गराएका थिएनन्। भारतबाट फर्किएपछि पनि उनले राष्ट्रपतिसँग भेटवार्ता गरेका छैनन्।

यसअघि विदेश भ्रमणमा जानुअघि र फर्किएपछि राष्ट्रपतिलाई जानकारी गराउने अभ्यास रहँदै आएको थियो। प्रधानमन्त्री शाहले भने त्यो अभ्यासलाई निरन्तरता नदिएको भन्दै आलोचना भइरहेको छ।

भारत भ्रमणका क्रममा भने शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुका साथै भारतका अन्य उच्च अधिकारीसँग पनि भेटवार्ता गरेका थिए।

बालेनसँग पाँच घण्टा लामो संवाद गरेको भोलिपल्ट रवि शीतल निवास पुगे, सरकारको कामकारबाहीदेखि संसद् अधिवेशन र अध्यादेशसम्म छलफल

यसअघि प्रधानमन्त्री शाहले भारत भ्रमणमा जानुअघि रास्वपा सभापति लामिछानेलाई भने विस्तृत जानकारी गराएका थिए।

मंसिर ५ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा शाहले भ्रमणको कार्यसूची, एजेन्डा र सम्भावित सहमतिबारे लामिछानेलाई जानकारी गराएका थिए। लामिछानेले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर भारतसँग छलफल र सहमति गर्न सुझाव दिएका थिए।

त्यसपछि बिहीबार बूढानीलकण्ठस्थित लामिछाने निवासमा प्रधानमन्त्री शाह र लामिछानेबीच करिब पाँच घण्टा लामो भेटवार्ता भएको थियो।

लामिछानेको सचिवालयका अनुसार उक्त भेटमा भारत भ्रमण, आगामी निर्वाचनको तयारी, मन्त्री तथा मन्त्रालयको कामकारबाही, अध्यादेश र संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल भएको थियो। भेटलाई सचिवालयले आत्मीय र सौहार्दपूर्ण संवाद भनेको थियो।

यसरी प्रधानमन्त्रीले राष्ट्रपतिसँग भारत भ्रमणबारे औपचारिक जानकारी र परामर्श नगरे पनि पार्टी सभापति लामिछानेलाई भने भ्रमणअघि र फर्किएपछि दुवैपटक लामो समय दिएर छलफल गरेका छन्।

राष्ट्रपतिसँगको संवादको अभाव र पार्टी सभापतिसँगको निरन्तर परामर्शले सरकार सञ्चालनमा संवैधानिक संस्थाभन्दा पार्टी नेतृत्वसँगको सम्बन्धलाई बढी प्राथमिकता दिइएको प्रश्नसमेत उठाएको छ।

सरकारले मंसिर अन्तिमतिर मात्रै संसद् बोलाउने तयारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसदहरू चीन भ्रमणबाट आइसकेका छन्।

तर विपक्षीहरूले सरकारका कामकारबाहीलाई लिएर संसद्मा मोर्चाबन्दी गर्ने आँकलन गरिएको छ। यस्तो अवस्थामा सरकाले पहिले केही अध्यादेश जारी गरेर मात्रै संसद् बोलाउने रणनीति बनाएको छ।

Skip This