मलेसिया प्रकरणः डोलप्रकाशका लागि आकर्षित हुन सक्छ सुडान प्रकरणको नजिर

मलेसिया प्रकरणः डोलप्रकाशका लागि आकर्षित हुन सक्छ सुडान प्रकरणको नजिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा उठाइएको रकम मलेसिया पठाइएको प्रकरणमा पक्राउ परेका पूर्वश्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि लागेको आरोप र सोही प्रकरणमा सभामुख डीपी अर्यालको भूमिका फरक हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले तत्कालीन मन्त्रीद्वय यादव र कुँवर तथा पूर्वमुख्यसचिव अर्याललाई पक्राउ गरेको छ ।

रायको कार्यकालमा सुरु भएको रकम पठाउने प्रक्रियाले अर्यालको कार्यकालमा समेत निरन्तरता पाएको अनुसन्धानले औंल्याएको छ ।

अघिल्ला दुईमन्त्रीले रकम पठाउने मन्त्रीस्तरीय निर्णयमा हस्ताक्षर गरेका छन् । तर, अर्यालले भने त्यस्तो निर्णय गरेको अनुसन्धानबाट खुल्दैन ।

रकम भने उनी मन्त्री भएका बेला समेत मलेसिया गएको देखिन्छ । पूर्ववर्ती मन्त्रीहरुको निर्णयमै टेकेर अर्यालको कार्यकालमा पनि रकम गएकाले उनीमाथि प्रश्न भने उठेको छ ।

२०७६ मंसिर ४ देखि २०७७ पुस १० सम्म श्रममन्त्री रहेका यादवको कार्यकालमा चार पटक रकम मलेसिया पठाइएको छ ।
२०७६ पुस २१ मा २ लाख ४५ हजार ९४६ पाउन्ड, २०७६ फागुन १५ मा ६ लाख ९३ हजार पाउन्ड र २०७६ चैत १० मा २ लाख ४८ हजार पाउन्ड मलेसिया पठाइएको थियो ।

त्यस्तै, २०७७ साउन १२ मा २ लाख १३ हजार ६५८ अमेरिकी डलर पठाइएको विवरण सिआईबीले प्राप्त गरेको छ । हालको विनिमय दरअनुसार यी दुवै रकमको नेपाली मूल्य करिब २६ करोड १२ लाख रुपैयाँ हुन्छ ।

कुँवर २०७९ असार १३ देखि पुस ११ सम्म श्रममन्त्री थिए । उनको कार्यकालमा २०७९ भदौ १७ मा रकम मलेसिया पठाउनेसम्बन्धी मन्त्रीस्तरीय निर्णय भएको थियो । २०७९ पुस ११ मा पनि रकम मलेसिया पठाइएको विवरण छ ।
के सभामुख अर्याल जवाफदेहीताबाट बाहिर छन् ?

सभामुख अर्याल श्रममन्त्री रहेका बेला २०८० चैत २५ गते मन्त्रालयले दुईवटा पत्रमार्फत २१ लाख ३१ हजार ७४० मलेसियन रिंगेट सटहीका लागि राष्ट्र बैंकलाई सिफारिस गरेको थियो । तत्कालीन विनिमय दरअनुसार यो रकम करिब ७ करोड २९ लाख रुपैयाँ हो ।

अर्याल आफैँले निर्णय गरेर रकम पठाएका छैनन् । तर, पूर्ववर्ती मन्त्रीहरुको निर्णयका आधारमा उनको कार्यकालमा भएको कामकारबाहीको जवाफदेहिताबाट भने उन्मुक्ति पाउँछन् कि पाउँदैनन् भन्ने गम्भीर प्रश्न उठेको छ ।


अघिल्ला मन्त्रीले गरेको निर्णय आफ्नो कार्यकालमा कार्यान्वयन गर्दा त्यसको कानुनी आधार र औचित्य जाँच्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको नेतृत्वको हो ।

सुडान काण्डमा मेहबहादुर र रमेश चन्द जेल जाने, डोलप्रसाद किन नजाने ?
आफ्नो कार्यकालमा मन्त्रालयबाट भएको सिफारिसको प्रशासनिक, राजनीतिक र नैतिक जिम्मेवारी अर्यालले लिनुपर्ने नेपाल प्रहरीका पूर्वडिआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।

अर्यालले कानुनविपरीत रकम बाहिर पठाउने प्रक्रियालाई निरन्तरता दिनुअघि त्यसबारे जानकारी लिएका थिए कि थिएनन्, ? आवश्यक कानुनी परीक्षण गराएका थिए कि थिएनन् ? वा रोक्न सक्ने अवस्था हुँदाहुँदै पनि कार्यान्वयनमा सघाए कि सघाएनन् भन्ने प्रश्न उठेको उनले बताए ।

‘मन्त्रालयको पत्राचार कसको निर्देशनमा भयो, फाइलमा के निर्णय भएको थियो र त्यसबारे मन्त्रीलाई जानकारी थियो कि थिएन ? यो विषय अनुसन्धानबाट स्पष्ट हुनुपर्छ’, ठकुरीले भने, ‘मलाई लाग्दैन कि यति ठूलो निर्णय लिँदा कर्मचारीले मन्त्रीलाई नसोधी गरेका थिए ।’

मल्लले यदि दुई पूर्वमन्त्री दोषी हुने हो भने सभामुख अर्याल पनि चोखो नरहने तर्क गरे ।

अघिल्ला अधिकारीले गरेको निर्णयमा टेकेर रकम भुक्तानी गर्दा सुडान घोटाला प्रकरणमा पछिल्ला अधिकारीहरु पनि दोषी ठहरिएको नजिर रहेको स्मरण उनले गरे ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत अफ्रिकी मुलुक सुडानको डार्फरमा खटिने नेपाल प्रहरीको टोलीका खरिद गरिएका बख्तरबन्द गाडी (एपीसी) र बन्दोबस्तीका सामान खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा विशेष अदालतले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो ।

एपीसी खरिदको निर्णय हुँदा ओमविक्रम राना प्रहरी महानिरीक्षक रहेको भए पनि रानाको निर्णयको निरन्तरतामा भुक्तानी दिएका त्यसपछिका दुई महानिरीक्षक हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी जेल गएको मल्लले बताए ।

१७ वैशाख ०७४ मा सर्वोच्च अदालतले तीन पूर्वप्रहरी महानिरीक्षकसहित ३४ प्रहरी अधिकारीलाई भ्रष्टाचारमा दोषी ठहर गरेको थियो । जसअन्तर्गत पूर्वप्रहरी महानिरीक्षक रानालाई २ वर्ष, गुरुङलाई १ वर्ष र ठकुरीलाई १ वर्ष कैद सजाय ठहर गरेको थियो ।

‘सुडान काण्डमा रमेश चन्द ठकुरी र हेमबहादुर गुरुङले निर्णय गरेका होइनन् । निर्णय गरेका त ओम रानाले हुन् । पछि त अघिल्लो निर्णयको निरन्तरतामा पेमेन्ट (भुक्तानी) मात्र भएको हो’, मल्लले काठमाण्डु पाटीसँग भने, ‘पेमेन्टको निरन्तरताको कारणले रमेश र हेमबहादुर जेल गए । अघिल्लो निर्णय गलत थियो भन्ने मान्ने हो भने त्यसलाई कार्यान्यवन गर्ने पछिल्ला अधिकारी पनि दोषी ठहर हुन्छन् भन्ने उदाहरण सुडान काण्डमा सम्मानित अदालतको फैसला हो ।’


सरकारले उही निर्णय कार्यान्वयन गरेका केहीलाई दोषी ठानेर कारबाही अघि बढाउँदा केहीलाई अनुसन्धान दायराबाट बाहिरै राख्नुले अनुसन्धान प्रक्रियामा पूर्वाग्रह देखिएको उनको भनाइ छ ।


‘जिटुजी (सरकार–सरकार) निर्णय भन्ने पनि आइरहेको छ । त्यस विषयमा क्लियर छैन’, उनले भने, ‘यो मुद्धामा अदालतले कसरी हेर्छ भन्न सकिएन ।’

Skip This