रित्तो थाल बजाउँदै होल्डिङ सेन्टरका सुकुम्बासी (तस्बिरहरू)

रित्तो थाल बजाउँदै होल्डिङ सेन्टरका सुकुम्बासी (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका सुकुमबासीहरू शुक्रबार रित्तो थाल बोकेर विरोधमा उत्रिएका छन्।

सरकारले खाना उपलब्ध गराउन बन्द गरेपछि उनीहरूले रित्तो थाल बजाउँदै सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले सरकारको कदमको विरोधमा विभिन्न नारासहितका प्लेकार्डसमेत देखाएका थिए।

सरकारले सूचना जारी गर्दै शुक्रबारदेखि होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि त्यहाँ बसिरहेका सुकुमबासीहरू आक्रोशित बनेका हुन्। एकातिर खाना बन्द गरिएको र अर्कोतिर तत्काल केन्द्र छाड्न भनिएको भन्दै उनीहरूले सरकारको निर्णयको विरोध गरेका छन्।

काठमाण्डुको नदी किनारका बस्तीबाट विस्थापित भएर भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी परिवार शुक्रबार रित्तो थाल बजाउँदै विरोधमा उत्रिए।

सरकारले खाना उपलब्ध गराउन बन्द गरेपछि उनीहरूले थाल ठटाएर सरकारको ध्यानाकर्षण गराएका हुन्। हातमा रित्तो थाल र सरकारविरोधी प्लेकार्ड बोकेका उनीहरूको प्रदर्शनको मुख्य माग छ, स्थायी बसोबासको व्यवस्था नगरी आफूहरूलाई आश्रयस्थलबाट नहटाइयोस्।

बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बनाइएको होल्डिङ सेन्टरमा अहिले १९ परिवारका ५९ जना बस्दै आएका छन्।

उनीहरू थापाथलीलगायत नदी किनारका जोखिमयुक्त बस्तीबाट हटाइएपछि यहाँ ल्याइएका हुन्। सरकारले उनीहरूलाई करिब सात महिनादेखि अस्थायी रूपमा यहीँ राख्दै आएको थियो। तर, वैकल्पिक आवासको टुंगो नलाग्दै होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरू विरोधमा उत्रिएका हुन्।

किन खाली गर्न भन्यो प्रशासनले ?

जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ९ गते सूचना टाँस्दै शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो।

भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय तहबाट प्राप्त विवरणअनुसार सात परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको देखिएकाले उनीहरू भूमिहीनको सूचीमा नपर्ने प्रशासनको भनाइ छ।

बाँकी १२ परिवारको नाममा जग्गा नदेखिएको र उनीहरूका लागि सम्बन्धित पालिकामार्फत जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको प्रशासनले जनाएको छ।

उनीहरूलाई भूमिहीनको निस्सा र सरकारले उपलब्ध गराउने घरभाडा सुविधा लिएर होल्डिङ सेन्टर छाड्न भनिएको छ। प्रशासनका अनुसार एक महिनाको घरभाडासमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

तर, विस्थापित परिवारले प्रशासनको यो व्यवस्थालाई पर्याप्त मानेका छैनन्। उनीहरूको प्रश्न छ, केही समयको घरभाडा पाएर कहाँ जाने ?

स्थायी बसोबासको व्यवस्था नभएसम्म होल्डिङ सेन्टर नछाड्ने उनीहरूको अडान छ। आफूहरूलाई जुन ठाउँबाट विस्थापित गरिएको हो, त्यही जिल्ला वा आसपासमै पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

खाना बन्द भएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका सुकुमबासी सडकमा, सरकारले आजदेखि केन्द्र खाली गर्न सूचना जारी गरेपछि थप चर्कियो असन्तुष्टि

सरकारले एकातिर भूमिहीन परिवारको व्यवस्थापनका लागि प्रक्रिया अघि बढेको दाबी गरेको छ भने अर्कोतिर तत्काल होल्डिङ सेन्टर खाली गर्न समयसीमा तोकेको छ। विस्थापित परिवार भने पुनःस्थापनाको स्पष्ट योजना र स्थायी आवासको सुनिश्चितताबिना बाहिरिन तयार छैनन्।

यही विवादका बीच बोडेमा रित्तो थाल बजाउँदै गरिएको प्रदर्शनले विस्थापनपछि पनि उनीहरूको आवास र जीविकोपार्जनको समस्या समाधान हुन नसकेको देखाएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी