काठमाण्डु– दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।कर्णाली प्रदेश रङ्गशाला सुर्खेत वीरेन्द्रनगरमा आज भएको खेलमा आर्मीले बागमतीलाई २–० गोलको अन्तरमा पराजित गरेको हो ।
पहिलो हाफ बराबरी भएको उक्त खेलको ६४औँ मिनेटमा आर्मीका लाकेन लिम्बूले पहिलो गोल गरेका थिए भने दोस्रो गोल अतिरिक्त खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका नवयुग श्रेष्ठले ९७औँ मिनेटमा गोल गरी आर्मीको जित सुनिश्चित गरेका थिए ।
आर्मी क्लबका लाकेन लिम्बूले १२औँ, अनुभव पुरीले ३९औँ र विमल पाण्डेले ९२औँ मिनेटमा पहेँलो कार्ड पाएका थिए भने बागमतीका रोनिस राजबाहकले ८८औँ र भुवन कामीले ९२औँ मिनेटमा पहेँलो कार्ड पाएका छन् ।
लुम्बिनीसँग पहिलो खेल जितेको आर्मीले बागमतीलाई पनि जितेपछि छ अङ्क प्राप्त गरेको छ भने पहिलो खेल कोशी प्रदेशसँग बराबरी गरेको बागमतीको एक अङ्कमात्र छ ।
भोलि पहिलो खेल बिहान ९ः०० सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ तथा दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच २ः३० बजे हुने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।


प्रतिक्रिया