एक वर्षअघि नेपालमा जेनजी आन्दोलनको लहर चलेको थियो । त्यसले ३६ वर्षीय पूर्व¥यापर तथा काठमाडौंका पूर्वमेयरको चुनावी विजयको बाटो खोल्यो । सामाजिक सञ्जालमा भारतविरोधी टिप्पणीका कारण चर्चामा रहेका उनलाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न नयाँदिल्लीले निकै कठिन प्रयास गर्नुपरेको थियो ।
उनीसँगै नेपालको इतिहासकै सबैभन्दा कम उमेरका मन्त्रिपरिषद् सदस्यमध्येका व्यक्तिहरूले शपथ लिएका थिए ।
कूटनीतिक तामझामभन्दा व्यावहारिकता
सोमबार, नोभेम्बर २३, २०२६ ले भारत–नेपाल सम्बन्धको नयाँ अध्याय सुरु गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालो चस्मा लगाउने ती युवा नेतासँग भेट गरे । दुई घण्टा लामो निजी छलफलमा व्यक्तिगत सम्बन्ध स्थापित गरे र आर्थिक सहयोगको ठूलो प्याकेज घोषणा गरे । यसले दुई देशबीच नयाँ विश्वास निर्माण गर्ने अपेक्षा गरिएको छ ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रत्यक्ष रूपमा आफ्ना चासो र अपेक्षा राखे । उमेरले आफूभन्दा दोब्बर रहेका भारतीय नेतासँग भविष्यकेन्द्रित छलफल गरे र भारतबाट यसअघि कुनै पनि नेपाली नेताले प्राप्त गर्न नसकेको उपलब्धिसहित स्वदेश फर्किए ।
यो छोटो, व्यवस्थित र काममा केन्द्रित भ्रमण थियो । यसले नेपालको जेनजी पुस्ता परिणाममुखी काम चाहन्छ र नयाँदिल्ली पनि त्यसअनुसार अघि बढ्न तयार छ भन्ने सन्देश दिएको छ ।
भ्रमणमा ताजमहलको भ्रमण थिएन । भव्य रात्रिभोज वा भाषण पनि भएनन् । ऐतिहासिक तथा सभ्यतागत सम्बन्धबारे असामान्य रूपमा कम चर्चा भयो । विगतमा वार्ताका कोठाहरूमा अत्यधिक समय लिने गरेका धेरै मुद्दा र असमझदारीबारे पनि मौनता देखियो ।
यसको सट्टा आर्थिक सम्पर्कलाई केन्द्रमा राखेर सकारात्मक, उत्पादनमूलक र परिणाममुखी साझेदारीमा ध्यान दिइयो । दुवै पक्षका लागि योभन्दा राम्रो भ्रमणको परिकल्पना गर्न कठिन छ, किनकि यसमा बिग्रिन सक्ने धेरै सम्भावना थिए ।
चीनसँग भूराजनीतिक खेल खेल्नु वा आफूलाई राजनीतिक पीडितका रूपमा प्रस्तुत गर्नुभन्दा शाहले सबैभन्दा पहिले नयाँदिल्ली भ्रमण गर्ने साहस देखाए । उनले भूगोलको वास्तविकतालाई अस्वीकार गर्नुको सट्टा त्यसलाई स्वीकार गर्दै भारत नेपालका लागि अपरिहार्य साझेदार भएको सन्देश दिए ।
भारत क्षेत्रीय आर्थिक शक्तिका रूपमा उदाइरहेको छ र त्यसको उपयोग गर्नुपर्छ, प्रतिरोध होइन भन्ने उनको दृष्टिकोण देखियो ।
मोदीका लागि यो ‘छिमेक पहिलो’ नीतिलाई नयाँ ऊर्जा दिने अवसर बन्यो । राजनीतिक हिसाबकिताब वा बेलाबखत उत्पन्न हुने तनावभन्दा माथि उठेर भारत आफ्नो क्षेत्रीय आर्थिक तथा सम्पर्क सञ्जाल विस्तार रणनीतिप्रति प्रतिबद्ध रहेको यसले देखाएको छ ।
नेपालको सन्दर्भमा विनाशकारी हिमाली बाढीपछि भारतले आवश्यकतामा परेको छिमेकीलाई वास्तविक सहयोग गर्ने मित्रका रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ ।

तीनवटा पारस्परिक लाभका उपलब्धि
भ्रमणका तीनवटा परिणामले द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सम्भावना देखाएका छन् ।
पहिलो : ‘विकसित भारत र समुन्नत नेपाल’ को मार्गचित्र
दुवै नेताबीच सहमति भएको विशिष्ट मार्गचित्र ‘विकसित भारत र समुन्नत नेपाल’ ले दुई देशबीचको साझेदारीलाई नयाँ ढङ्गले परिभाषित गर्दै विकसित र मध्यम आय भएको मुलुकको हैसियततर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
यसका १० वटा प्रमुख आधारमध्ये पहिलो तीनवटाले परस्पर निर्भरताका प्रमुख क्षेत्रलाई स्तरोन्नति गर्ने विषयमा जोड दिएका छन् ।
ती हुन्–विकास तथा आर्थिक सम्बन्ध, भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल र ऊर्जा तथा जलवायु ।
दोस्रो : ‘विशेष सम्बन्ध’ भन्दा आधुनिक साझेदारीमा जोड
यो मार्गचित्रले नयाँदिल्लीले परम्परागत रूपमा जोड दिँदै आएको ‘विशेष सम्बन्ध’ भन्ने पुरानो नारालाई छाडेर ‘महत्त्वाकांक्षी, आधुनिक र पारस्परिक लाभमा आधारित साझेदारी’ को अवधारणा अघि सारेको छ ।
यसले समकालीन राजनीतिक, आर्थिक तथा प्राविधिक वास्तविकतालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेको छ ।
मार्गचित्रमा पटकपटक ‘भविष्यकेन्द्रित’ सम्बन्धको कुरा गरिएको छ । नयाँ र युवा नेपालले भारतसँग खोजेको सम्बन्ध पनि यही हो ।
तेस्रो : बालेन सरकारलाई राजनीतिक उपलब्धि
शाह आफ्नो पहिलो विदेश नीतिसम्बन्धी सफलतासहित नेपाल फर्किएका छन् । यसले निरन्तर राजनीतिक दबाब सामना गरिरहेको उनको सरकारलाई आवश्यक राजनीतिक ऊर्जा पनि दिएको छ ।
भ्रमणका क्रममा भएका विभिन्न सहमतिमध्ये कतिपय विषय दिल्लीले वर्षौंदेखि ढिलाइ गर्दै आएको थियो । अर्थतन्त्र पुनरुत्थानका लागि १.६ अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा ऋण सहयोग, हवाई सम्पर्क विस्तारका कदम, नयाँ रेलमार्ग र जलविद्युत् क्षेत्रमा लगानी त्यसका उदाहरण हुन् ।
यी सबै विषयले भारत–नेपाल सम्बन्धमा नयाँ अध्यायको संकेत गरे पनि यसलाई ऐतिहासिक मोड भन्न सकिन्छ कि सकिँदैन भन्ने कुरा समयले नै बताउनेछ ।

त्यो शाहले आफ्नो पार्टीमाथिको पकड सुदृढ गर्न सक्छन् कि सक्दैनन् र सत्तामा टिकिरहन सक्छन् कि सक्दैनन् भन्ने कुरामा पनि निर्भर हुनेछ । भारत कहिल्यै मौन दर्शक मात्र हुँदैन । नेपालको राजनीतिक सहजता र आफ्ना प्राथमिकताबारे भारतका धारणा काठमाडौंमा सधैँ स्पष्ट रूपमा सुनिन्छन् ।
विश्वास निर्माणलाई निरन्तरता दिन र पुनः तनाव उत्पन्न हुन नदिन दुवै नेताले प्रत्येक दुई महिनामा हुने टेलिफोन संवादसहित प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्नुपर्छ ।
मोदीले पनि अहिले बनेको सकारात्मक वातावरणको उपयोग गर्दै आठ वर्षपछि छिट्टै काठमाडौं भ्रमण गर्नुपर्छ । त्यसपछि महत्त्वाकांक्षी मार्गचित्रलाई कसरी कार्यान्वयन गर्ने भन्ने प्रश्न आउँछ । यसको सफलता कार्यान्वयनका साना तर महत्त्वपूर्ण विवरणमा निर्भर हुनेछ ।
प्रगतिको अनुगमन गर्न उच्चस्तरीय अनुगमन समूह पुनः सक्रिय बनाउनु राम्रो उपाय हो । तर ऊर्जा पाइपलाइनदेखि रेलमार्गसम्मका नयाँ सीमापार पूर्वाधार परियोजनालाई अघि बढाउन बलियो राजनीतिक समर्थन आवश्यक हुनेछ ।
अर्को चुनौती शाहले बाह्य सहयोगका लागि अन्य मुलुकका ढोका ढकढक्याउँदा र तनावपूर्ण भूराजनीतिक परिस्थितिमा बाटो पहिल्याउँदा उत्पन्न हुनेछ । विशेषगरी चीन र पाकिस्तानजस्ता आत्मविश्वासी प्रतिस्पर्धी तथा अनिश्चित अमेरिकासँगको सम्बन्ध व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ ।
नयाँदिल्लीले स्वाभाविक रूपमा आफ्ना प्रमुख सुरक्षा चासो काठमाडौंसँग राख्नुपर्नेछ र सुरक्षासम्बन्धी निश्चित सीमारेखा पनि स्पष्ट गर्नुपर्नेछ ।
तर त्यस्तो सामरिक सुरक्षा प्राथमिकताले यस साताको रणनीतिक आर्थिक उपलब्धिमुखी सोचलाई कमजोर पार्नु हुँदैन । नयाँ नेपालका विकाससम्बन्धी माग पूरा गर्न भारतले अझ धेरै, अझ राम्रो र अझ छिटो कसरी आपूर्ति तथा सहयोग गर्न सक्छ भन्ने नयाँ उपाय आवश्यक छ । नयाँ नेपाल युवा, आत्मविश्वासी र लेनदेनमा आधारित सम्बन्ध चाहने मुलुक हो ।

बंगलादेशका लागि पनि मोडल बन्न सक्छ ?
यस साताको भारत-नेपाल संयुक्त मार्गचित्रले भारत–बंगलादेश सम्बन्ध सुधारका लागि पनि एउटा मोडल प्रदान गर्न सक्छ ।
भारत र बंगलादेशबीचका असमझदारी तथा दाउ निकै ठूलो छन् । विशेषगरी शेख हसिनाको विषयले सम्बन्ध सामान्यीकरण प्रक्रियालाई ढिलाइ गरिरहेको छ ।
तर यहाँ पनि राजनीतिक नेतृत्वले व्यापार, यातायात, ऊर्जा र सीमापार सम्पर्क सञ्जालमा आधारित पारस्परिक लाभको भारत–बंगलादेश आर्थिक साझेदारी पुनः सुरु गर्न सहजकर्ताको भूमिका खेल्न सक्छ ।
सन् २००९ यता यिनै क्षेत्रको सहकार्यले दक्षिण एसियाको पूर्वी उपक्षेत्रको स्वरूप नै परिवर्तन गरेको थियो । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले नयाँदिल्लीको अपेक्षित भ्रमण पटकपटक स्थगित गर्दै आएका छन् । विभिन्न विश्लेषणले भारतसँगको सम्बन्ध सुधारमा राजनीतिक पुँजी लगानी गर्न नसक्नु वा नचाहनुलाई यसको कारणका रूपमा व्याख्या गरेका छन् ।
तर संघर्षरत बंगलादेशी अर्थतन्त्र र शाहको सफल नयाँदिल्ली भ्रमणले अहिले ढाकाका लागि पनि सम्बन्ध सुधारको महत्त्व बढाइरहेको र उसको रणनीतिक हिसाबकिताब परिवर्तन गरिरहेको हुन सक्छ ।
लेखक जेभियरको आलेख द हिन्दुमा प्रकाशित छ ।




प्रतिक्रिया