शल्यचिकित्सामा एआई प्रविधिको प्रयोगमा जोड दिँदै मेदान्ता र किस्टबीचको सहकार्यको एक वर्ष पूरा

शल्यचिकित्सामा एआई प्रविधिको प्रयोगमा जोड दिँदै मेदान्ता र किस्टबीचको सहकार्यको एक वर्ष पूरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको गुरुग्रामस्थित मेदान्ता–द मेडिसिटी र नेपालको ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा गरेको छ।

यस अवसरमा दुवै संस्थाले कृत्रिम बुद्धिमत्ता (एआई) र मुटु उपचार तथा छातीको शल्यचिकित्सामा भइरहेका नयाँ प्रगतिबारे केन्द्रित स्वास्थ्यसम्बन्धी छलफल गरेका छन्।

‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोल्याबोरेसन’ अर्थात् चिकित्सकीय तथा शल्यचिकित्सकीय उत्कृष्टताका लागि सहकार्य भन्ने नारासहित लाजिम्पाटस्थित र्‍याडिसन होटलमा आयोजित कार्यक्रममा नेपाल र भारतका प्रतिष्ठित चिकित्सक तथा विशेषज्ञहरू सहभागी थिए।

उनीहरूले चिकित्सकीय अनुभव आदानप्रदान गर्नुका साथै शल्यचिकित्साका क्षेत्रमा विकसित नयाँ प्रविधि र उपचार पद्धतिबारे छलफल गरेका थिए।

मेदान्ताका अध्यक्ष तथा प्रबन्ध निर्देशक एवं पद्मभूषणबाट सम्मानित डा. नरेश त्रेहानले मुटुसम्बन्धी उपचारमा एआईको बढ्दो भूमिकाबारे प्रकाश पारे। उनले विशेषगरी उच्च जोखिममा रहेका बिरामीको प्रारम्भिक पहिचान, चिकित्सकीय निर्णय प्रक्रिया र शल्यक्रियाको योजना निर्माणमा एआई प्रविधिको महत्त्व बढ्दै गएको बताए।

प्रविधिले चिकित्सकको निर्णय क्षमतालाई सहयोग गर्नुपर्ने, त्यसको स्थान लिन नहुनेमा जोड दिँदै उनले बिरामीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

मेदान्ताको छाती शल्यचिकित्सा, छातीको क्यान्सर शल्यचिकित्सा तथा फोक्सो प्रत्यारोपण संस्थानका अध्यक्ष डा. अरविन्द कुमारले छातीसम्बन्धी शल्यचिकित्सामा एआईको प्रयोगबारे चर्चा गरे। उनले स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान र जटिल शल्यक्रियाको योजना निर्माणमा एआई प्रविधिको उपयोगिता औँल्याए। साथै, शल्यचिकित्सामा चिकित्सकको अनुभव र विभिन्न विधाका विशेषज्ञबीचको समन्वयात्मक उपचार पद्धतिको महत्त्वमा पनि उनले जोड दिए।

कार्यक्रममा किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापा, मुटुरोग शल्यचिकित्सक डा. रमेश कोइराला तथा छाती र रक्तनलीसम्बन्धी शल्यचिकित्सा विशेषज्ञ डा. सम्पूर्णमान तुलाधरलगायत सहभागी थिए।

यस सहकार्यको उद्देश्य ज्ञान आदानप्रदान, प्रविधिको विकास र बिरामीको उपचार नतिजामा सुधारमार्फत चिकित्सकीय सेवाको गुणस्तर अभिवृद्धि गर्नु रहेको छ।

सन् २०२६ मा न्युजवीकले भारतको उत्कृष्ट अस्पतालका रूपमा सूचीकृत गरेको मेदान्ताले नेपालबाट उपचारका लागि भारत जाने बिरामीलाई उपलब्ध गराउँदै आएका अन्तर्राष्ट्रिय बिरामी सहायता सेवाबारे पनि जानकारी दिएको थियो।