काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नेतासँगको निकटता देखाएर टिकटको दाबी नगर्न आग्रह गरेका छन् ।
सभापति लामिछानेले नतासँग खिचेको तस्बिर देखाउँदै आफूले नै टिकट पाउने भन्दै प्रचार गर्न नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरे ।
कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सुर्खेतमा सम्बोधन गर्दै उनले भने, ‘एयरपोर्टदेखि एयरपोर्टसम्म पुग्दा नेताहरू कार्यकर्ताबाट घेरिन्छन् । तिनै साथीहरू वरपर फोटोमा देखिन्छन् । यिनै तस्बिर देखाएर मै हुँ यसपटकको उम्मेदवार भन्न भ्याउँछन् होला । म तपाईंहरूको प्रेमप्रति कृतज्ञ छु, तर त्यो फोटो बेच्न त पाइँदैन,’ उनले भने ।
नेतासँगको तस्बिरलाई भेटको स्मृतिका रूपमा लिनुपर्ने भन्दै उनले त्यसलाई पार्टीभित्र प्रभाव देखाउने माध्यम नबनाउन आग्रह गरे ।
उनले कर्णालीबाट पार्टीले कम सिट जितेपनि विकासमा रास्वपाले प्राथमिकता दिने प्रतिबद्धता जनाए ।
‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँमा जस्तो हुन सकेन। कर्णालीमा हाम्रो आवाज, दूरदराजमा पुग्न सकेन, पुर्याउन सकेनौं र कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरू प्रदेशको तुलनामा कमजोर हुने भयो। तर म आज उभिएर सिङ्गो कर्णालीलाई बाचा गर्न चाहन्छु तपाईंले हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन, कर्णालीले विकास मागेको छ। खोजेको छ’, लामिछानेले भने ।
उनले भने, ‘रास्वपा सरकारमा रहुन्जेलसम्म चाहे कर्णालीले एक जनापनि नपठाओस्, कर्णालीले एक भोट नदिएपनि रास्वपाको प्राथमिकतामा रहने छ।’
कर्णालीसँग सौदा गर्न नआएका बताउँदै सभापति लामिछानेले कर्णालीका मुद्दालाई केन्द्रमा लिएर जाने प्रतिबद्धताका साथ आएको धारणा राखे।
उनले राजनीतिक दलमा लागे पार्टीको झोले भनेर मानिसहरूले आलोचना गर्ने, विरोध गर्ने तथा अपमानित गर्ने चलन वर्षौँदेखि चल्दै आएको उल्लेख गरे।
लामिछानेले गत फागुनको निर्वाचनमा कर्णालीमा रास्वपाको उपस्थिति अपेक्षाअनुसार हुन नसकेको स्वीकार गरे । पार्टीका उम्मेदवारलाई जिताएर संसद्मा पठाउने विषयमा कर्णाली पछाडि परेको भन्दै उनले यहाँका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताए ।




प्रतिक्रिया