म्यानमारमा सेनाको हवाई आक्रमण- विवाह समारोह र विद्यालयमा गरी ४१ जनाको मृत्यु

म्यानमारमा सेनाको हवाई आक्रमण- विवाह समारोह र विद्यालयमा गरी ४१ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– म्यानमारमा सेनाले गरेको हवाई आक्रमणमा विवाह समारोहमा सहभागी र विद्यालयका विद्यार्थी तथा शिक्षकसहित कम्तीमा ४१ जनाको मृत्यु भएको छ।

शनिबार दक्षिणी शान राज्यको मोए बाइ गाउँमा विवाह समारोह भइरहेको स्थलमा सेनाले हवाई आक्रमण गर्दा २१ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।

यसअघि बिहीबार मध्य म्यानमारको माग्वे क्षेत्रस्थित इन योन गाउँको एक विद्यालयमा भएको हवाई आक्रमणमा विद्यार्थी, युवा भिक्षु र शिक्षकसहित कम्तीमा २० जनाको मृत्यु भएको निर्वासित राष्ट्रिय एकता सरकार (एनयूजी) ले जनाएको छ।

त्यस्तै, शनिबार साँझ पश्चिमी रखाइन राज्यको म्राउक–यू सहरको आवासीय क्षेत्रमा पनि सेनाले बमबारी गरेको थियो। उक्त आक्रमणमा १० जनाभन्दा बढीको मृत्यु भएको र करिब २० जना घाइते भएको बताइएको छ।

म्यानमारमा सन् २०२१ मा सेनाले निर्वाचित नागरिक सरकारलाई अपदस्थ गरेपछि गृहयुद्ध जारी छ। सेनाले आफ्नो नियन्त्रणबाहिर रहेका क्षेत्रमा हवाई तथा स्थल आक्रमण गर्दै आएको छ।

पछिल्लो आक्रमण अन्तर्राष्ट्रिय न्यायालयले म्यानमारलाई रोहिंग्या समुदायमाथि नरसंहार गरेको ठहर गरेको एक सातापछि भएको हो। सन् २०१७ मा सेनाको कारबाहीका क्रममा हजारौँ रोहिंग्याको मृत्यु भएको थियो भने सात लाखभन्दा बढी विस्थापित भएका थिए।