नेपाली र अमेरिकी सेनाको ‘शान्ति प्रयास’ अभ्यासमा के हुँदैछ, किन हुँदैछ?

नेपाली र अमेरिकी सेनाको ‘शान्ति प्रयास’ अभ्यासमा के हुँदैछ, किन हुँदैछ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच ‘शान्ति प्रयास अभ्यास-२०२६’ अन्तर्गत विस्फोटक पदार्थ पहिचान तथा निष्क्रिय पार्ने क्षमता बढाउन संयुक्त सैन्य सीप आदानप्रदान तालिम हुने भएको छ ।

अमेरिकी दूतावासले सार्वजनिक गरेको जानकारीअनुसार आगामी नोभेम्बर ३० देखि डिसेम्बर ७ (मंसिर १४ देखि २१) सम्म काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य सञ्चालन तालिम केन्द्रमा यो तालिम कार्यक्रम हुनेछ ।

नेपाली सेनाले आयोजना गर्ने कार्यक्रममा अमेरिकी सेनाको प्यासिफिक कमान्डका विशेषज्ञहरू सहभागी हुनेछन् । यो अभ्यासको मुख्य उद्देश्य विस्फोटक पदार्थ तथा जोखिमपूर्ण सैन्य सामग्री पत्ता लगाउने, तिनलाई निष्क्रिय पार्न सुरक्षित रूपमा नष्ट गर्ने क्षमतामा दुवै देशका सैनिकको व्यावसायिक दक्षता अभिवृद्धि गर्नु रहेको छ।

यसका साथै संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका क्रममा नेपाली सेनाले हासिल गरेको अनुभव अमेरिकी सैनिक विशेषज्ञसँग आदानप्रदान गरिनेछ ।

के हो शान्ति प्रयास अभ्यास ?

‘शान्ति प्रयास’ संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका लागि खटिने सैनिकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिने सैन्य तालिम तथा अभ्यास कार्यक्रम हो ।

यसको मूल उद्देश्य विभिन्न देशका सेनालाई संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा एकअर्कासँग समन्वय गरेर काम गर्न सक्ने बनाउनु हो ।

शान्ति मिसनमा सैनिकहरूले युद्धरत पक्षबीच युद्धविराम कायम राख्न सहयोग गर्ने, सर्वसाधारणको सुरक्षा गर्ने, मानवीय सहायता वितरणमा सहयोग गर्ने र द्वन्द्व प्रभावित क्षेत्रमा सुरक्षा वातावरण निर्माण गर्ने जिम्मेवारी पाउँछन् ।

यस्ता जिम्मेवारी पूरा गर्दा विस्फोटक पदार्थ, बारुदी सुरुङ, युद्धका क्रममा छाडिएका हतियार तथा अन्य खतरनाक सामग्री ठूलो चुनौती बन्न सक्छन् । त्यसैले शान्ति मिसनमा खटिने सैनिकलाई विस्फोटक पदार्थ पहिचान तथा निष्क्रिय पार्ने सीप आवश्यक हुन्छ ।

नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा प्रकाशित एक अध्ययनले पनि शान्ति प्रयासलाई संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुने देशका सैनिकलाई पूर्वतयारी गराउने बहुराष्ट्रिय अभ्यासका रूपमा व्याख्या गरेको छ ।

यसमा सैन्य तालिमसँगै कमान्ड तथा नियन्त्रण, सञ्चार, सैन्य प्रहरी, आधारभूत स्वास्थ्य सेवा र विस्फोटक पदार्थसम्बन्धी सुरक्षा सीपलाई महत्त्व दिइन्छ ।

अभ्यासमा के-के हुन्छ ?

यस वर्षको कार्यक्रमको मुख्य विषय विस्फोटक पदार्थ निष्क्रिय पार्ने प्रविधि तथा अनुभव आदानप्रदान हो । नेपाली र अमेरिकी सैनिक विशेषज्ञले एकअर्कासँग मिलेर काम गर्नेछन् ।

कार्यक्रममा मुख्यतः विस्फोटक पदार्थ पत्ता लगाउने तालिम, विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप, विस्फोटक पदार्थ सुरक्षित रूपमा व्यवस्थापन गर्ने र प्राविधिक ज्ञान र अनुभव आदानप्रदान हुनेछ ।

सैनिकहरूले विभिन्न स्थानमा लुकाइएका वा छाडिएका विस्फोटक पदार्थ कसरी पहिचान गर्ने भन्ने विषयमा सीप आदानप्रदान गर्नेछन् ।

यसका साथै विशेषगरी द्वन्द्वग्रस्त क्षेत्रमा प्रयोग भएका विस्फोटक उपकरण, शंकास्पद सामग्री र विस्फोटको जोखिम भएका क्षेत्र पहिचान गर्ने विधिबारे प्रशिक्षण हुनेछ ।

विस्फोटक पदार्थ फेला परेपछि त्यसबाट हुन सक्ने क्षति रोक्न अपनाउनुपर्ने सुरक्षा उपाय र निष्क्रिय पार्ने प्रक्रियाबारे तालिम हुनेछ ।

यसमा जोखिमको मूल्यांकन, सुरक्षित दूरी कायम गर्ने, सुरक्षा मापदण्ड पालना गर्ने र विशेषज्ञको निगरानीमा विस्फोटक पदार्थ व्यवस्थापन गर्ने प्राविधिक ज्ञान महत्त्वपूर्ण मानिन्छ।

विस्फोटक सामग्री निष्क्रिय गरिसकेपछि त्यसलाई सुरक्षित रूपमा हटाउने तथा व्यवस्थापन गर्ने विधिबारे पनि दुवै देशका सैनिकले अनुभव आदानप्रदान गरिनेछ ।

यसले शान्ति मिसनमा खटिएका सैनिक मात्रै नभई द्वन्द्व प्रभावित क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको जीवनसमेत सुरक्षित बनाउन सहयोग गर्ने अपेक्षा नेपाली सेनाले गरेको छ ।

तालिममा अमेरिकी सेनाका विशेषज्ञले विस्फोटक पदार्थ पहिचान तथा निष्क्रिय पार्ने क्षेत्रमा आफूहरूले हासिल गरेको प्राविधिक ज्ञान, सञ्चालन अनुभव र कार्यविधिबारे नेपाली सैनिकलाई जानकारी गराउनेछन् ।

त्यसैगरी नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा विस्फोटक पदार्थसँग सम्बन्धित जोखिम व्यवस्थापनमा हासिल गरेको अनुभव अमेरिकी विशेषज्ञसँग साझा गर्नेछ ।

नेपाली सेनाका अनुसार यो कार्यक्रम एकतर्फी प्रशिक्षण नभई दुवै देशका सैनिकबीच पारस्परिक ज्ञान तथा सीप आदानप्रदानमा आधारित हुनेछ ।

नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका लागि सैनिक पठाउने प्रमुख योगदानकर्ता मुलुकमध्ये एक हो । नेपाली सेनाले लामो समयदेखि विश्वका विभिन्न द्वन्द्व प्रभावित क्षेत्रमा शान्ति मिसनमा सहभागिता जनाउँदै आएको छ । नेपाली सैनिकले अफ्रिका, मध्यपूर्वलगायतका क्षेत्रमा शान्ति स्थापनाका लागि काम गरेका छन् ।

शान्ति मिसनमा खटिँदा सैनिकले सशस्त्र समूह, युद्धका अवशेष, बारुदी सुरुङ, इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईइडी) तथा अन्य विस्फोटक जोखिमको सामना गर्नुपर्ने हुन्छ ।

त्यसैले यस्ता विस्फोटक उपकरण पहिचान गर्ने, जोखिम मूल्यांकन गर्ने र सुरक्षित रूपमा निष्क्रिय पार्ने सीप शान्ति सैनिकका लागि महत्त्वपूर्ण हुन्छ ।

अमेरिकी सेनासँगको यो अभ्यासले नेपाली सेनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेका प्राविधिक विधि, सुरक्षा मापदण्ड र व्यावसायिक अभ्यासबारे थप जानकारी हासिल गर्ने अवसर प्राप्त हुने सेनाको भनाइ छ ।

नेपाल र अमेरिकाबीच शान्ति स्थापना तथा सैन्य क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य हुँदै आएको छ । शान्ति प्रयास त्यही सहकार्यको एउटा महत्त्वपूर्ण कार्यक्रम हो ।

यसअघि नेपालमा सन् २०००, २०१३, २०१७ र २०२४ मा शान्ति प्रयासका विभिन्न संस्करण सञ्चालन भइसकेका छन् । सन् २०२४ मा सम्पन्न शान्ति प्रयास-४ मा १९ देशका सैनिक तथा अन्य सहभागीले भाग लिएका थिए ।

अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले यो कार्यक्रम नेपालले विश्व शान्ति स्थापनामा पुर्‍याउँदै आएको योगदानमा आधारित रहेको बताएकी छन् । विस्फोटक पदार्थ हटाउने क्षेत्रमा अनुभव आदानप्रदान गर्दा दुवै देशमा र विदेशमा सञ्चालन हुने शान्ति मिसनमा मानवीय जीवन बचाउने क्षमता बढ्ने विश्वास उनले लिएकी छन्।