देशभर विष्फोट र आगजनी :निशानामा एनसेल, सरकारलाई धक्का !

देशभर विष्फोट र आगजनी :निशानामा एनसेल, सरकारलाई धक्का !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा शुक्रबार देशभर आक्रमक भएका छन् । राजधानी काठमाडौंदेखि विभिन्न जिल्लामा एनसेललाई लक्षित गरेर विष्फोट र आगजनी गरिएका खबर सार्वजनिक भएका छन् । ललितपुरको नक्खुस्थित एनसेल कार्यालयको गेटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विष्फोटबाट घाइते भएका सिंहप्रताप गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । घटनामा प्रतीक्षा खड्का र अनुषा डंगोल घाइते भएका छन् ।

काठमाडौंको कमलपोखरीस्थित ल्होत्से चोकमा रहेको आँगन स्विट्समा प्रेसर कुकर बम सेनाले डिस्पोजल गरेको छ । बाग्लुङ र कञ्चनपुरमा समेत एनसेलका टावरमा आगजनी गरिएको छ । एनसेललाई कसले र किन निशानामा राख्यो रु हालसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक हुन सकेको छैन । तर शुक्रबार राति भएका घटनाले सुरक्षा संयन्त्रको कमजोरीलाई खुलस्त पारिदिएको छ । प्रहरीले सबै घटनामा अनुसन्धान गरिरहेको जनाएको छ ।

कमजोर गुप्तचर संयन्त्र

गुप्तचर संयन्त्र मजबुत भएको भए विष्फोटका योजना बनाइँदा र विष्फोटक पदार्थ ओसारपोसार गर्दा नै योजनाकारहरू पक्राउ गर्नुपर्ने हो । तर एनसेललाई निशानामा राख्ने समूहले आफ्नो योजनालाई सफल बनाएको छ । विष्फोट र आगजनीका योजनाकारहरूले एनसेल कम्पनीलाई त्रसित बनाउन र ठूलो क्षतिको खतराबारे सचेत गराउन सफल भएका छन् ।

एकैसाथ देशभर एनसेलमाथि आक्रमक हुनु कुनै सानो संगठनको काम होइन । विष्फोट र आगजनीका घटनालाई सांगठनिक र योजनावद्ध अपराधका रुपमा सहजै अनुमान गर्न सकिन्छ । कुन समूहले के उद्देश्यले विष्फोट र आगजनी गर्यो भन्ने स्पष्ट नखुलेपनि कर छलीको विरोध र एनसेलबाट चन्दा माग्ने उद्देश्य रहेको प्रारम्भिक सूचना बाहिरिएका छन् । तर यी सूचनाको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

सांगठनिक रुपमा भएको अपराधबारे सुरक्षा संयन्त्रले पूर्वसूचना किन प्राप्त गर्न सकेन रु सुरक्षा सूचनाका लागि सबै सम्भावित सबै समूहभित्र सुरक्षा सुराकीहरू किन परिचालित हुन सकेनन् रु गुप्तचर क्षेत्रमा राज्यको पर्याप्त लगानी हुँदाहुँदै पनि सम्भावित अपराधबारे सुरक्षा निकायलाई पूर्वजानकारी किन हुँदैन रु यी अनेक प्रश्नबीच सुरक्षा संयन्त्रको सूचना प्रणाली कमजोर रहेको स्पष्ट भएको छ ।

नेपालको दूरसञ्चार क्षेत्रमा ठूलो आर्थिक कारोबार गर्ने एनसेलबाट सरकारले ठूलो राजस्व प्राप्त गर्ने गरेको छ । सँगसँगै विभिन्न राजनीतिक र आपराधिक समूहले एनसेलबाट चन्दा लिने र आफ्नो गुजारा गर्ने माध्यम बनाउँछन् । यसले एनसेललाई घाटा पुग्नुका साथै लगानीकर्ताहरू त्रसित र हतोत्साहित हुने देखिन्छ ।

लगानी सम्मेलनअघि सुरक्षा चुनौती !
केही दिनअघि फागुन ७ टुँडीखेलमा भएको ६९ औं प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चैतमा हुन लागेको लगानी सम्मेलन भाँड्ने शक्तिहरू देशमा सक्रिय भएको बताएका थिए । एनसेलमाथि भएको आक्रमणले लगानी सम्मेलनमा लगानीकर्ताले सुरक्षा चुनौतीलाई प्रमुख मुद्दा बनाउन सक्ने खतरा रहन्छ ।

देशभरलाई समृद्ध बनाउने अभियानमा लागेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारका लागि विष्फोट र आगजनीका घटना चुनौती बन्न सक्छन् । नेपालमा भित्रिन लागेको लगानीलाई समेत प्रभावित पार्न सक्ने क्षमता यस्ता आपराधिक घटनामा रहन्छ भन्ने तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन । अपेक्षाकृत विदेशी लगानी भित्र्याउन नसकिए समृद्धिको सपना कार्यान्वयनमा जटिलता आउन सक्छ ।

एनसेललाई निशानामा राखेर गरिएको विष्फोट र आगजनीको असर अब एनसेलसम्म मात्रै सीमित रहेन । यसले लगानीकर्तालाई हतोत्साहित गर्नेदेखि सर्वसाधारणलाई त्रसित बनाउने काम गरेको छ । यसतर्फ सरकार र सुरक्षा संयन्त्र गम्भीर बन्नुपर्छ । चैतमा हुने लगानी सम्मेलनअघि विष्फोट र आगजनीका घटनामा संलग्न अपराधीलाई कानूनी कठघरामा ल्याएर सुरक्षा सुनिश्चितता कायम गर्न सक्नु नै महत्त्वपूर्ण सवाल बनेको छ ।
यसअघि भारतीय कम्पनीले निर्माण गरिरहेको संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनमा भएको बम विस्फोट र आगजनीको घटना भएको थियो । सरकारले घटनाबारे छानबिन गरिरहेपनि त्यो अपराधको स्पष्ट चित्र सार्वजनिक हुन सकेको छैन । सुरक्षा संयन्त्रले न विष्फोटका घटना रोक्न सक्ने र न अपराध भइसकेपछि अभियुक्तलाई पक्राउ गर्न सक्ने हो भने यसले सरकारको समृद्धिको अभियानमा धक्का पुर्याउन खोज्नेलाई बल पुग्नेछ ।