रक्षामन्त्री पोखरेलसँग किन भेटे ६ देशका सेवा दलका युवाले ?


काठमाडौं – राष्ट्रिय सेवा दलको युवा आदान प्रदान कार्यक्रम २०७५ (युथ एक्सचेन्ज प्रोग्राम–२०१९) अन्र्तगत नेपालमा रहेका विभिन्न ६ देशका युवाहरुले आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग अन्तक्र्रिया गरेका छन् ।

नेपाली सेनाको मुख्यालयमा आयोजित अन्तक्र्रियामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र नेपालका गरी झण्डै ७६ जना क्याडेटको सहभागीता रहेको थियो । युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिबृद्धि गर्न सहयोग गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सहभागी हुन फागुन १२ गते देखि ति देशका क्याडेटहरु सहभागी छन ।

सेना दिवस र शिवरात्रीको सन्दर्भ पारेर सहभागी हुन क्याडेटका साथै ति देश सम्वद्ध समन्वय अधिकृत र महानिर्देशकहरुको समेत सहभागिता रहेको छ । विभिन्न देशबाट उत्कृष्ठता हाँसिल गरेर छनौट भएका सहभागीलाई स्वागत गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले नेपालको सुन्दरताका अनेकन पक्षलाई हेर्न, बुझ्न र अध्ययन गर्ने आग्रह गर्नुभयो ।

‘तपाईहरु यस क्षेत्रका देश र जनता–जनता विचको सम्वन्ध विकास गर्ने सुन्दर पुलको काम गरिरहनुभएको छ, म त्यसका निम्ती प्रसंसा व्यक्त गर्ने चाहन्छु’–पोखरेलले शुभकामना दिदैं भन्नुभयो–‘हाम्रो देशका राष्ट्रिय सेवा दलका क्याडेटहरुले सामाजिक सद्भावको झण्डा उठाएका छन्, देशभक्तिको झण्डा उठाएका छन्, मलाई विश्वास छ–यही अनुभव तपाईहरुलाई पनि बाँड्नुभएको होला ।’

अन्र्तक्रियामा उपप्रधानमन्त्री पोखरेलको आग्रहपछि विद्यार्थीहरुले यसविचमा सिकेका अनुभव र कला प्रदर्शन गरेका थिए । झण्डै दुई दर्जन भन्दा बढि क्याडेटले आ–आफ्नो मुलुकका कला सामुहिक र एकल रुपमा प्रस्तुत गरेका थिए ।

अन्र्तक्रिया अघि उपप्रधानमन्त्री पोखरेलसँग इन्डिया एनसिसिका डाइरेक्टर जनरल राजीव चोपडा, बंगलादेशका जनरल अब्दुल बटेन खा र श्रीलंकाका मेरभ्यान सुनेथ पेरेरसँग संयक्त रुपमा शिष्टाचार भेट गरेका थिए । भेटमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे, उच्च सैनिक अधिकारी एवं परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement