काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू अहिले शोकमा भएको र दिवंगत भएकाका परिवार शोकमा भएकाले त्यो शोकलाई शक्तिमा बदल्नुपर्ने बताएका छन् ।
नेकपाले बिहीबार काठमाडौंमा आयोजित गरेको तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलगायतका नेता र ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूको सम्झनामा आयोजित श्रदाञ्जलि सभामा बोल्दै प्रचण्डले आफूहरू अहिले शोकमा भएको र दिवंगत भएकाका परिवार शोकमा भएकाले त्यो शोकलाई शक्तिमा बदल्ने बेला आएको बताएका हुन् ।
प्रचण्डले रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको मृत्यु ‘पहाडभन्दा गह्रुंगो’ भएको बताए । उनले लाखौँ जनतालाई तरंगीत पार्दै भएका निधनबाट शिक्षा लिनुपर्ने समेत बताए । उनले सबैमा दिवंगतहरूप्रति श्रदा र सम्मान पैदा भएको बताए । उनले दिवंगत भएका व्यक्तिहरूका राम्रा कामबाट शिक्षा लिने र युगयुगसम्म ती काम स्थापित गर्नका लागि संकल्प गर्ने बेला आएको बताए ।
‘दिवंगतहरूको कामको समीक्षा गरौँ, पीडा र शोक त भएकै छ । शोक र पीडा हुनु मानवीय पक्ष हो’, उनले भने, ‘इच्छाशक्तिको बलमा शोकलाई शक्तिमा बदल्न सक्नुपर्छ। समाजको उन्नती र प्रगतिको निम्ति हामी रोएर मात्रै पीडामा बाँच्न सक्दैनौँ ।’ उनले दिवंगतहरूले गरेका राम्रा कामको सही विवेक प्रयोग गरेर अगाडि बढ्न पार्टी नेता कार्यकर्ता दिवंगत परिवारका आफन्त र सबैमा आह्वान गरेका थिए । प्रचण्डले फागुन महिना शोक र श्रदाञ्जलिमा बिताउनुपरेको बताए ।
फागुन १ गते जनयद्ध र जनआन्दोलनका सहिदहरूप्रति र त्यसपछि अन्य दिवंतहरूको निधनमा बिताउनुपरेको बताए । उनले भने, ‘उहाँहरूको सपना साकार पार्ने दिशामा अगाडि बढ्न संकल्प लिएर मात्रै सही काम हुन सक्छ । परिवारका सदस्यले शोकलाई शक्तिमा बदल्ने संकल्प लिनैपर्दछ । आम नेपाली जनताले बडो चनाखो आँखाले हेरिरहनुभएको छ ।’ दिवंगत नेता र राष्ट्रसेवकको परिवारबारे उनले भने, ‘देशको एउटा जिम्मेवार नेता र राष्ट्रसेवकको परिवारको हिसाबले संकल्प लिने बेला हो यो । परिवारका सदस्यले संकल्प लिने बेला यहिँ नै हो ।’
हेलिकोप्टर दुर्घटनामा दिवंगत रवीन्द्र अधिकारीलगायत सातैजनाका परिवारलाई भेटेर आफूले धैर्य गर्न र दिवंगतहरूका सपना पूरा गर्न संकल्प लिन भनेको प्रचण्डले बताए । दिवंगतहरूको सपना साकार पार्न योगदान गर्ने दिशामा भूमिका खेल्नुपर्छ भनेर आग्रह गरेको उनको भनाइ थियो ।प्रचण्डले देशको राजनितिक परिस्थितिको विशिष्ट मोडमा रहेको बताए ।
ठूलो राजनीतिक अवसर छ र चुनौती सँगसँगै आएको उनको भनाइ थियो । लामो संघर्ष र बलिदानपछि नेपाल लोकतान्त्रिक गणतन्त्रमा पुगेको भन्दै उनले रवीन्द्र र भरतमोहनले दिएको योगदान यसमा महत्वपूर्ण रहेको बताए । उनीहरूले जीवन नै अर्पण गरेको उनको भनाइ थियो ।




प्रतिक्रिया