प्रचण्डमाथि अनेकथरि प्रहार : निशानामा गणतन्त्र !


काठमाडौं – ‘मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र वा परिवर्तन बच्ने हो त ?’ केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममै प्रश्न गरे । शहीद-बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई नेकपा कार्यालय पेरिसडाँडामा गत बिहीबार सम्बोधन गर्दै प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट आफ्नो हत्या गर्ने योजना बनेको समेत खुलासा गरे ।

अध्यक्ष प्रचण्डको हत्या हुने सूचना सुरक्षा निकायमा पुगेको यसपालि पहिलो घटना होइन । यसअघि समेत हत्या हुने योजना र षड्यन्त्रबारे पटक–पटक प्रचण्डलाई सूचना पुग्ने गरेको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीजस्तै आफ्नो पनि हत्या हुनसक्ने भनेर प्रचण्डले वर्षौअघि अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष प्रचण्डका सम्बन्धमा आउने गम्भीर खालका सूचना र अभिव्यक्तिले नेपाली राजनीति तरङ्गित हुने गरेको छ । प्रचण्ड एउटा व्यक्ति मात्रै नभएर शासन व्यवस्था परिवर्तनका सूत्रधार भएकाले उनका विषयमा आउने गम्भीर सूचनाले सर्वसाधारणको मन–मुटुमा समेत प्रभाव पार्ने गर्छ ।
प्रचण्डको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वले जनतालाई राष्ट्रप्रमुखदेखि राष्ट्रपतिसम्म बन्ने बाटो खुला गरेको छ ।

देशमा गणतन्त्र आएपछि जनताले आफ्नो भाग्यको फैसला आफैं गर्नसक्ने भएका छन् । मुलुकमा गणतन्त्र आएपनि जनतासम्म त्यसको अनुभूति पुग्न नसकेको गुनासा स्वभाविक आउँछन् तर जनताले आफ्नो शासन आफैं गर्ने व्यवस्था हालसम्मकै उत्कृष्ट हो । लामो संक्रमणकालीन र राजनीतिक नेतृत्वको कमजोरीका कारण जनताले अनुभूति गर्ने गरी गणतन्त्र स्थापित हुन सकेको छैन ।

राजनीतिक स्थिरतामा चलखेल
व्यक्तिगत स्वार्थभन्दा जनताको दीर्घकालीन हितका लागि काम गर्ने अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरताका लागि प्रतिनिधिसभा निर्वाचनअघि तत्कालीन नेकपा एमालेसँग चुनावी तालमेल गर्ने अनपेक्षित निर्णय लिए । चुनावी तालमेल हुँदैदेखि प्रचण्डलाई केन्द्रित गरेर थुप्रै प्रलोभनदेखि धम्कीसम्म दिएको देखियो । तर प्रचण्ड राजनीतिक स्थिरताका लागि आफ्नो निर्णयमा स्थिर रहे ।

चुनावी तालमेलपछि एमाले–माओवादी गठबन्धनको झण्डै दुईतिहाइ बहुमत आएपछि प्रचण्डलाई प्रधानमन्त्री बन्ने गठबन्धन तोड्नेसम्मका आकर्षक अफर आए । प्रचण्डलाई लोभ्याएर मुलुकमा अस्थिरता मच्चाउने प्रयास गरिए । तर प्रचण्डले पदको लोभभन्दा मुलुकको स्थिरतालाई प्राथमिकतामा राखे । विगत कैयौं वर्षदेखिको अवस्था हेर्दा राजनीतिक अस्थिरता नै मुलुकको प्रमुख समस्याझै देखिएको थियो ।

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वका सरकार गठन भयो । पूर्वघोषित निर्णय अनुसार नै एमाले र माओवादीबीच पार्टी एकीकरण भएर नेकपा पार्टी गठन भयो । जसको अध्यक्ष ओली र प्रचण्ड दुवै भए । प्रचण्डको सशक्त भूमिकाका कारण सरकार र पार्टी दुवै बलियो भएपछि अस्थिरतावादी समूह आत्तिएका छन् र प्रचण्डमाथि अनेकथरि प्रहार गर्न थालिएको छ । प्रचण्ड भने गणतन्त्रको अनुभूति जनतासम्म पुर्याउने उद्देश्यसहित राजनीतिक स्थिरताका लागि सरकारलाई सघाइरहेका छन् ।

राजावादीदेखि विप्लवसम्म
सरकारको नेतृत्व अध्यक्ष ओलीले गरेपनि प्रचण्डको साथ रहँदासम्म राजनीतिक अस्थिरता मच्चाउन नसकिने देखेर यथास्थितिवादी र प्रतिक्रियावादी शक्ति आत्तिएका छन् । राजनीतिक स्थिरता कायमै रहे गणतन्त्र संस्थागत हुने र गणतन्त्र संस्थागत भए आफ्नो अस्थित्व धरापमा पर्ने चिन्ता केही तत्वमा प्रष्टै देखिन थालेको छ ।

पछिल्लो समय राजावादीदेखि विप्लव समूहमा छटपटाहट देखिएको छ । निरंकुश राजतन्त्र फाल्नमा प्रचण्डको नेतृत्वदायी भूमिका रहेका कारण राजावादी प्रचण्डसँग रुष्ट छन्, सँगसँगै प्रचण्ड सक्रिय राजनीति र शक्तिमा रहेसम्म राजतन्त्र फर्काउन नसकिनेमा समेत जानकार छन् । तसर्थ प्रचण्ड र गणतन्त्रलाई निशानामा राखेर राजावादी शक्तिहरू सक्रिय भइरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरादेखि तराई क्षेत्रमा भ्रमण र भेटघाटका नाममा राजनीतिक चलखेल गरिरहेका छन् भने पूर्वपञ्चहरू कमल थापा र पशुपति राणाको पार्टीले छुट्टाछुट्टै अभियान र आन्दोलन गरिरहेका छन् । सबैको एउटै लक्ष्य छ – गणतन्त्रलाई बद्नाम गर्दै राजतन्त्र फर्काउने र आफ्नो स्थान सुरक्षित गर्ने ।

एकीकृत जनक्रान्तिको नाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पनि सरकारी अभियान र कार्यक्रमलाई असफल पार्र्ने भूमिका निर्वाह गरिरहेका छन् । सरकारले समृद्धिको खाका तयार गरिहँदा विप्लवले बमबारुद र हातहतियारको बलमा चुनौती दिइरहेका छन् । विदेशी लगानी भित्रिन नदिने र आर्थिक क्षेत्रमा त्रास सिर्जना गर्ने खालका गतिविधि विप्लव समूहले गरिरहेको छ । गणतन्त्र संस्थागत हुन नदिनमा विप्लव समूहले अघोषित भूमिका निर्वाह गरिरहेको छ ।

निशानामा गणतन्त्र
नेपालमा गणतन्त्र संस्थागत भएर समृद्धि र विकासको मूल फुटेको धेरैलाई रुचाएको छैन । शान्ति प्रक्रिया, संविधान निर्माणदेखि समृद्धिको अभियानसम्म आइपुग्दा चलखेलहरू निरन्तर चलिरहेका छन् । तर पछिल्लो राजनीतिक उपलब्धीका जन्मदाता प्रचण्डले सबै चलखेललाई निस्तेज पारिरहेका छन् । तसर्थ अब प्रचण्डलाई शक्तिबाट अलग गर्ने, भौतिक आक्रमण गर्ने, बद्नाम गर्ने लगायतका योजना बनिरहेका छन् ।

केही दिनअघि एउटा टेलिभिजन कार्यक्रमका प्रस्तोताले प्रचण्डको योगदान र भूमिकालाई चटक्कै बिर्सिएर उनलाई बद्नाम गर्ने नियतले तथानाम अभिव्यक्ति दिए । टेलिभिजन प्रस्तोताको त्यो आक्रामक प्रस्तुती प्रचण्डलाई बद्नाम गर्ने र असफल पार्ने अभियानकै निरन्तरता हो । तर जनताले त्यो प्रस्तुतीलाई खारेज गर्दै प्रतिवाद गरिरहेका छन् । विभिन्न माध्यमबाट प्रचण्डमाथि भइरहेका प्रहारलाई निस्तेज पार्दै गणतन्त्र संस्थागत गर्न सबै गणतन्त्रवादी नागरिक सचेत बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement