सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ८ कर्मचारी पक्राउ

सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ८ कर्मचारी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राँझा – सरकारी जग्गा व्यक्तिको नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ। सरकारी जग्गाको कागजात किर्ते गरेको आरोपमा सोमबार राति भूमिसुधार तथा मालपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय (बाँके)का प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

मालपोत कार्यालयका नायब सुब्बा रुद्र देवकोटा, टंक शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र भूमिसुधार तथा मालपोत कार्यालय ९बर्दिया०का नायब सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमिराज पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी बाँकेको मालपोत कार्यालयबाट हाल हुलाक कार्यालयमा सरुवा भएका अधिकृत पुष्पा श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका व्यक्तिले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

उनीहरू जग्गा कीर्तेमा मात्र नभई शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा समेत संलग्न रहेको देखिएकाले केही दिनभित्रै सबै तथ्य बाहिर आउने उनले बताए। सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरूका बयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।

सेवाग्राहीको भीडभाड हुने भूमिसुधार तथा मालपोत कार्यालय (बाँके)का पाँच कर्मचारी प्रहरीको नियन्त्रणमा परेपछि कार्यालयको काम प्रभावित हुने भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवा प्रवाहमा समस्या आउने स्थिति आए अन्य कार्यालयबाट कर्मचारी झिकाएर काम नियमित पारिने बताए। रासस