ओली सर्वोच्च कमाण्डर, प्रचण्ड केन्द्रीय कमाण्डर: प्रधानमन्त्री अालाेपालाे!


काठमाडौं– एमाले र माओवादी केन्द्रको पार्टी एकताका लागि नेतृत्वको नयाँ मोडालिटीमाथि सहमतिको प्रयास थालिएको छ।

पार्टी एकता पश्चात नेतृत्वका विषयमा यसअघि चारवटा मोडालिटीमा छलफल भइरहेपनि हाल आएर केपी शर्मा ओलीलाई सर्वाेच्च कमाण्डर र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई केन्द्रीय कमाण्डर दिने गरी तीव्र छलफल थालिएको छ।

पार्टी एकता गर्नै घोषणा भएको चार महिना वित्दा समेत एकता नभएपछि सर्वत्र संसय बढिरहेका बेला यस्तो सहमतिको प्रयास थालिएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिए लगत्तै वाम गठबन्धनको सरकार बन्ने छ।

वाम गठबन्धनको सरकार बन्नु अघि नै पार्टी एकता गर्ने गरी नेतृत्व टुंग्याइन लागिएको हो।

स्रोतका अनुसार अहिले नेतृत्व टुंग्याएर पार्टी एकता गर्ने र ६ महिना पछि विशेष महाधिवेशन बोलाएर अन्य पदाधिकारीको टुंगो लाग्नेछ।  एमालेले राष्ट्रपतिसहित उपसभामुख पाउनेछ भने माओवादीले उपराष्ट्रपतिसहित सभामुख।  प्रधानमन्त्री आलोपालो गर्ने विषयमा छलफल भइरहेकाे छ।

यसैगरी, ओली अध्यक्ष बनाएर प्रचण्डलाई कार्यकारी भूमिका दिने विषयमा पनि छलफल भइरहेको छ। तर, प्रचण्डलाई केन्द्रीय कमाण्डर दिएर ओलीलाई सर्वाेच्च कमाण्डर बनाउनेमा एमाले सकारात्मक देखिएको छ।

ओलीले शनिबार मात्र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित आफूनिकट नेताहरुलाई बालकोटस्थित निवासमा बोलाएर नेतृत्व व्यवस्थापन गर्ने उपायबारे परामर्श गरेका थिए।

एमाले नेता सुरेन्द्र पाण्डेले नेतृत्वको व्यवस्थापनका लागि विकल्पमाथि छलफल भइरहेको बताए। सर्वस्वीकार्य हुने विकल्पमा जाने उल्लेख गर्दै
पाण्डेले एकताबाट कोही पनि पछि हट्न नसक्ने बताए।

आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकले फागुनभित्रै पार्टी एकता गर्ने निर्णय गरेको छ।

पछिल्लो समय शक्ति बाँडफाँडमा कुरा नमिल्दा एकता प्रक्रिया भाँडिन सक्ने बताइरहेका बेला एमालेले औपचारिक रुपमै एकता गर्ने निर्णय गरेको हो ।

सोही विषयमा छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच सोमबार भेटवार्ता हुुँदैछ। प्रचण्ड गृहजिल्ला चितवन गएका थिए।

दुवै नेताबीच आइतबार भेटवार्ता हुने भनिएपनि सोमबारका लागि सारिएको हो।

गत बिहीबार ओली र प्रचण्डबीच वान टु वान छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement