काठमाडौं – प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले उच्च अदालतमा न्यायाधीशका लागि सिफारिस भएका १७ जनालाई बुधबार पद तथा गोपनीयताको शपथ खुवाएका छन् । एक साता अघि मात्र न्यायपरिषदले उच्च अदालतका लागि १८ न्यायाधीश सिफारिस गरेको थियो ।
उच्च अदालतमा वैशाख ३ गते खाली हुने पदका लागि पनि पहिलै सिफारिस गरिएको हो । १८ मध्ये एक जना न्यायाधीशले उक्त पद खाली भएपछि नियुक्ति पाउने गरी सिफारिस गरिएको छ । न्यायालयमा राजनीतिक भागबन्डाका आधारमा नियुक्त भएको भन्दै पुन एकपटक चर्को विरोध भएको थियो।
उच्च अदालतका न्यायाधीशमा विशिष्ट श्रेणीबाट नायब महान्यायाधीवक्ता किरण पौडेल, सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल नियुक्त भएका छन् ।
त्यस्तै यसअघि पुनरावेदन अदालतमा अतिरक्त न्यायाधीश बनेकी निलम पौडेल, सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भक्तपुरका मोहम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी, पर्साका नगेन्द्रलाल कर्ण उच्च अदालतका न्यायाधीश भएका छन् ।
यी मध्ये काफ्ले, ढकाल, शर्मा, आजाद र कर्ण्विरूद्ध गम्भीर उजुरी परेको भन्दै २ वर्षअघि न्यायपरिषदको छानबिन गरेको थियो । कर्णलाई सामान्य नसिहत दिए पनि अरू चार जनालाई भने गम्भीर अनुसन्धान गर्नु पर्ने भनेको थियो । न्यायपरिषदले अनुसन्धान नै नगरी उनीहरूविरूद्धको उजुरी तामेलीमा पठाएर उच्च अदालतमा तानेको हो ।
अधिवक्ताहरू जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्जवल शुक्ल र नवराज थपलिया अधिवक्ताहरूबाट न्यायाधीशमा सिफारिस भएका छन् ।
संसदीय सुनुवाई नहुने भएका कारण सिफारिस भएलगत्तै उनिहरु न्यायाधीश बन्ने पक्काजस्तै बनेको थियो। सर्वोच्च अदालतका लागि सिफारिस भएका पाँच न्यायाधीशको भने संसदीय सुनुवाई हुन बाँकी छ।




प्रतिक्रिया