काठमाडौं – भारतमा तीन नेपालीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वली छन् ।
उनीहरु गत मंसिर १४ गते दाङ शान्तिनगर–२ कै ४६ वर्षीया जाइफल मियाले लेभर कामका लागि भनेर भारतको हिमाचल प्रदेश लगेका पुर्याएका थिए ।
उनीहरु हिमाचलको कुल्लुमनालीतर्फ गएको बेला पूर्णबहादुर वली हराएको भनेपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
प्रहरीले खोजी गर्ने क्रममा नोखिराम भण्डारी र प्रकाश वलीलाई मृत अवस्थामा चैत १० गते फेला पारेको थियो ।
उनीहरु दुवै जनाको शव प्रहरीले नेपाल ल्याई आफन्तलाई बुझाएको थियो । हराएका पूर्णबहादुर वलीको भने प्रहरीले खोजी कार्य जारी थियो ।
पूर्णबहादुको पनि शव चैत २५ गते कुल्लुमनालीको पतलीकुहलको जंगलमा फेला परेको थियो । उनको पनि बिहीबार शव दाङ ल्याई आफन्तलाई बुझाउन खोजिएको थियो ।
तर, उनको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले पूर्णबहादुरको शव बुझ्न नमानेको प्रहरीले जनाएको छ । उनको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ।
पूर्णबहादुरको शव भने सडिसकेको अवस्थामा फेला परेको थियो ।
यता जंगलमा चिसोले कठ्यांग्रिएर मृत्यु भएको हुनसक्ने भारतीय प्रहरीले जनाएको छ ।
भारत लैजाने जाइफललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी अधिकृत र पीडित परिवारका सदस्यहरु भारत जान लागेका छन् ।




प्रतिक्रिया