राष्ट्रपतिको चीन भ्रमण आर्थिक विकासमा केन्द्रित, बिप्पादेखि पारवहन सम्झौतासम्म

राष्ट्रपतिको चीन भ्रमण आर्थिक विकासमा केन्द्रित, बिप्पादेखि पारवहन सम्झौतासम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि गर्ने चीन भ्रमण नेपालको आर्थिक विकासमा चिनियाँ लगानी र सहयोग भित्र्याउन केन्द्रित हुने भएको छ ।उच्चस्तरीय भ्रमणका लागि सरकारीस्तरबाट भइरहेका एजेन्डा निर्माणमा आर्थिक विकासका एजेन्डाले प्राथमिकता पाएका छन् । दुवै देशबीच व्यापारलाई सहज बनाउन पारवहन सम्झौतादेखि चिनियाँ लगानी भित्र्याउने वातावरण बनाउन बिप्पा सम्झौता गर्नेसम्मको तयारी सरकारी स्तरबाट भइरहेको छ ।

राष्ट्रपति भण्डारी बैशाख ११ गतेदेखि १९ गतेसम्म नौ दिन चीनमा रहने छिन् । नेपाल–चीनबीच व्यापार सहज बनाउन पारवहन सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर गर्ने तयारी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सम्झौतामा नेपालले चीनका बन्दरगाह प्रयोग गर्न, विभिन्न रुटबाट ढुवानी गर्न, यातायातका माध्यमको प्रयोग गर्न, छ वटा नाकाबाट पारवहन ढुवानी गर्न र सिगात्सेसम्म आफ्नै ढुवानी साधन लैजान सक्ने लगायतका प्रावधान राखिएका छन् । सरकारले सम्झौतामा हस्ताक्षरका लागि वाणिज्य सचिवलाई अख्तियारी दिइसकेको मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

भ्रमणका क्रममा नेपाल एयरलाइन्सलाई चीनमा उडान अनुमतिका सन्दर्भमा समेत सम्झौता हुने जनाइएको छ । नेपाल एयरलाइन्सलाई बेइजिङ र गोन्जाउमा उडानको रुट तथा स्लट दिने विषयमा भ्रमणका क्रममा छलफल हुने जनाइएको छ । सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले चिनियाँ पर्यटक भित्र्याउन पनि उडान अनुमति आवश्यक छ । नेपाल एयरलाइन्सले लामो समयदेखि चीनमा उडानका लागि रुटको अनुमति प्राप्त गर्ने प्रयास गरिरहेको छ ।

चीन, जापान, हङकङ लगायतका गन्तव्यमा उडान गर्ने लक्ष्यसहित नेपाल एयरलाइन्सले दुई वटा वाइडबडी जहाज समेत किनेको छ । तर पर्याप्त उडान अनुमति नहुँदा वाइडबडीले अपेक्षाकृत उडान भर्न सकेको छैन । जसबाट वाइडबडी र नेपाल वायुसेवा निगम घाटामा भइरहेको छ । पर्याप्त पर्यटक भित्र्याउन र वाइडबडीबाट कमाइ बढाउन उडान अनुमतिबाट टेवा पुग्नेछ । चिनियाँ लगानी भित्र्याउने सहज वातावरण निर्माणका लागि राष्ट्रपतिको भ्रमणका क्रममा लगानी प्रवद्र्धन तथा सुरक्षण प्रत्याभूति सम्झौता ९बिप्पा० गर्ने तयारी समेत सरकारी पक्षको छ ।

भारतसँग यसअघि नै बिप्पा सम्झौता भइसकेको छ । पछिल्लो समय नेपालमा चीन र भारतका लगानीकर्ता आकर्षित भइरहेका छन् । बिप्पा गरेर लगानीको वातावरण निर्माण गर्न सके लगानी झनै भित्रिने आशा गरिएको छ । बिप्पा सम्झौताको तयारी स्वरुप दुवै देशबीच मस्यौदा आदानप्रदान भइसकेका छन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी चीनको बेइजिङमा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट तथा रोड मञ्चमा सहभागी हुने कार्यक्रम छ ।राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङले नेतृत्व गर्ने टोलीबीच द्विपक्षीय छलफल समेत हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीले साङ्सी प्रदेशको राजधानी सिआन तथा तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, संघीय सांसद, उच्च सरकारी अधिकारीहरू, चीनका लागि नेपाली राजदूत तथा निजी क्षेत्रका प्रतिनिधिसमेत सहभागी हुनेछन् । उद्योगमन्त्री मातृका यादव चीनमै रहने भएका कारण उतैबाट टोलीमा सहभागी हुने जनाइएको छ ।

आर्थिक विकास र समृद्धिमा चीनसँगको सहकार्य महत्त्वपूर्ण हुने भनेर सरकारी बुझाइबीच भइरहेको राष्ट्रपतिको भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ । राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमणका क्रममा हुने सम्झौता र छलफलले नेपाल–चीन सम्बन्धलाई झनै निकट र विश्वसनीय बनाउने र सहयोग–सहकार्य बढाउने अपेक्षा गरिएको छ ।