बैंकहरुले बढाए नाफा

बैंकहरुले बढाए नाफा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लगानीयोग्य रकम (तरलता)को अभाव हुँदाहुँदै पनि बैंकहरुले नाफा बढाएका छन्। तरलताको असर बैंकको नाफामा खासै नपरेको उनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ। बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन्। उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको देखिएको छ।

सोमबारसम्म सात वाणिज्य बैंकले चालु वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन। तीमध्ये नेपाल बैंकको नाफामात्र घटेको छ। अन्य बाँकी ६ बैंकको नाफा बढेको छ। चैत मसान्तसम्म एभरेस्ट बैंकले दुई अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ। पोहोरभन्दा यस वर्षको नौ महिनामा यसले ३४ करोड रुपैयाँले नाफा बढाएको छ। गत वर्ष एभरेस्ट बैंकले सो अवधिमा एक अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो।

नेपाल एसबिआई बैंकले गत वर्षको तुलनामा यस वर्ष २३ करोड रुपैयाँले नाफा बढाएको छ। चालु आर्थिक वर्षको नौ महिनामा एसबिआई बैंकले पनि एक अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ३७ करोड नाफा कमाएको थियो।

सिद्धार्थ बैंकले एक अर्ब ५९ करोड नाफा कमाएको छ। पोहोर उक्त अवधिमा सिद्धार्थ बैंकको नाफा एक अर्ब ३८ करोड थियो। यसपालिको सिद्धार्थ बैंकको नाफा पोहोरको भन्दा २१ करोड रुपैयाँले बढी हो। सानिमा बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्षको चैत मसान्तसम्ममा यसको नाफा एक अर्ब २० करोड रुपैयाँ थियो। सानिमा बैंकले पोहोरको तुलनामा ३७ करोडले नाफा बढाएको हो।

माछापुच्छ«े बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब २४ करोड नाफा गरेको छ। गत वर्षभन्दा माछापुच्छ«े बैंकले ३९ करोड रुपैयाँले नाफा बढाएको छ। गत वर्षको चैत मसान्तमा माछापुच्छ«े बैंकले ८५ करोड मात्र नाफा गरेको थियो।

यसैगरी, सिटिजन्स बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ६ करोड नाफा गरेको छ। गत वर्षको सोही अवधिमा यसले एक अर्ब नाफा गरेको थियो। उक्त बैंकले गत वर्षभन्दा ६ करोडले नाफा बढाएको छ। नेपाल बैंकले भने गत आर्थिक वर्षको नौ महिनाभन्दा यस आवको सोही अवधिमा नाफा घटाएको छ। गत वर्ष चैत मसान्तसम्म दुई अर्ब ५६ करोड नाफा गरेको थियो। तर, चालु आवमा उसको नाफामा गत वर्षभन्दा ३२ करोडले कमी आएको छ। चालु आर्थिक वर्षको नौ महिनामा नेपाल बैंकले दुई अर्ब २४ करोड मात्रै नाफा कमाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।