काठमाण्डु– बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ। लगातारको वर्षाले रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार दिउँसोदेखि राजमार्ग अवरुद्ध भएको हो ।
अबरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको जनाइएको छ ।
गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवम् डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोक खण्डको चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा, माम्ती र सिन्धुलीको आँपघारीमा अस्थायी डाइभर्सन बगाएको छ।
अहिले यस क्षेत्रको राजमार्गमा यातायात आवागम पूर्ण रुपमा अवरुद्ध भएको छ।
काभ्रेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ ।
मौसममा सुधार आएपछि क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताइएको छ ।
गतसालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।




प्रतिक्रिया