हेटौँडा – सवारी चालक अनुमतिपत्र नवीकरण सेवा हेटौंडाबाट पनि दिन सुरु गरिएको छ । हेटौँडाबाट यो सेवा सुरु भएसँगै नवीकरण गराउन विरगञ्ज र काठमाडौं धाउँदै आएका हेटौँडा, चितवनलगायतका जिल्लाका बासिन्दाहरुलाई अब सजिलो भएको छ ।
सवारी चालक अनुमति पत्रको सेवा बुधबार प्रदेश नम्बर ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौँडा ११ थानाभर्याङबाट सुरु गरेसँगै थप सहज भएको हो । स्मार्ट सवारी चालक अनुमति पत्रको नवीकरण गरेर बुधबार २६ जनालाई वितरण गरेर कामको सुरुवात गरिएको हो ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री डोरमणि पौडेलले बुधबार सेवाग्राहीका रुपमा माधव अधिकारी, रमेशकुमार उप्रेती, ऋषिराम घिमिरेलगायतकालाई सवारी चालकको नवीकरण पत्र हस्तान्तरण गरे ।
हेटौंडाबाट नयाँ सवारी दर्ता, कर नवीकरण, सवारी पञ्जीकरण, रुटपरमिट नवीकरण, जाँच पासलगायतका काम सुरु गरिएको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया