काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) एक साता भ्रमणका लागि यूरोपेली मुलुक अष्ट्रिया प्रस्थान गरेका छन् ।
अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान ड बेलनको निमन्त्रणामा राजधानी भियनामा सुरु हुने जलवायुसम्बन्धी आर २० विश्व शिखर सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान गरेका हुन् ।
उपराष्ट्रपति पुन सम्मेलनको पहिलो फोकस सत्रमा प्यानलिस्टका रुपमा सहभागी हुनेछन् । उनले राइजिङ एम्विसन एक्सन फर क्लाइमेटको पहिलो छलफल सत्र क्लाइमेट लिडरसीपमा सम्बोधन गर्नेछन् ।
यो सत्रमा उपराष्ट्रपति पुनसँगै हंगेरीका राष्ट्रपति जानोस अडेर, घानाका राष्ट्रपति नाना अकुफो अड्डो, मोजाम्विकका राष्ट्रपति फ्लिपे न्यूसी र लाटभियाका राष्ट्रपति रेइमण्ड भेजोनिस सहभागी हुनेछन् ।
त्यस्तै यो सत्रमा विश्व बैंकका सिइओ क्रिस्टालिना जर्जियभा र फ्रान्सका जैविक तथा समावेशी मन्त्रालयका सेक्रेटरी अफ स्टेट पनि प्यानलिस्टको रुपमा सहभागी हुनेछन् ।
यो सत्रको सहजीकरण पत्रकार मेलिन्डा क्रेनले गर्ने छन् । उनी जर्मन टेलिभिजन डि डब्लु टिभीका प्रमुख राजनीतिक सम्बाददाता हुन् ।
यो सम्मेलनमा अन्तरिक्षबाट अमेरिकी अन्तरिक्षयात्री स्कट केलीले अन्तरिक्षबाट देखिने दृश्यको प्रत्यक्ष जानकारी दिनेछन् । उनले भ्यू फ्रम स्पेस सत्रमा सहभागिता जनाउँदै छन् ।
यता भियनास्थित नेपाली दूतावासले १४ गते पुनको सम्मानमा कार्यक्रम आयोजना गर्दैछ । भियनास्थित हिल्टन भियना डानुवे वाटरफ्रन्टमा उपरराष्ट्रपति पुनको सम्मानमा कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ ।
उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायत छन् ।उपराष्ट्रपति पुन जेठ १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।




प्रतिक्रिया