भारतमा गान्धी परिवार संकटमा, नेपालमा कोइराला परिवारले कांग्रेसलाई उकास्ला ?

भारतमा गान्धी परिवार संकटमा, नेपालमा कोइराला परिवारले कांग्रेसलाई उकास्ला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय राजनीतिमा रहेको परिवारवाद संकटमा पर्दै गएको छ । भर्खरै भारतमा सम्पन्न निर्वाचनले गान्धी परिवारको विरासत र भारतीय कांग्रेस पार्टीलाई झन् संकटको खाडलमा धकेलेको छ ।

देशभरको नतिजा मात्रै होइन, गान्धी परिवारको विरासत मानिएको अमेठी निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष राहुल गान्धीको पराजयले गम्भीर राजनीतिक संकटलाई पुष्टि गरेको छ । सोनिया गान्धीको नेतृत्वमा ठीकठाक चलेको कांग्रेस पार्टी राहुल–प्रियंकाले हर्ताकर्ता हुन खोज्दा संकटमा देखिएको छ ।

लगातार १० वर्ष सत्ता सम्हालेको कांग्रेसले सन् २०१४ मा भएको पराजयलाई स्वाभाविक मानिएको थियो । सत्ताप्रतिको असन्तुष्टि व्यक्त भएको रुपमा हेरिएको थियो । तर पाँच वर्ष प्रतिपक्षमा रहेको कांग्रेसले आफ्नो अवस्थामा कुनै सुधार गर्न नसक्नु र झनै कमजोर प्रदर्शन गर्नुले पार्टी नेतृत्वमाथि संकट आइलागेको देखिएको छ ।

त्यही महसूस गर्दै अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्ष पदबाट राजीनामा समेत दिए । तर राजीनामा अस्वीकृत गरियो र पार्टीलाई गान्धी परिवारले नै नेतृत्व गर्ने बाटोमा अगाडि बढाइयो । पार्टी महासचिवमा प्रियंका गान्धी यसअघि नै नियुक्त भइसकेकी छन् । गान्धीबाहेक अरु पार्टीमा सक्षम नेता कोही छैनन् रु छन् तर परिवारवाद हाबी भएकाले अरु नेतृत्वमा आउने हिम्मत गर्दैनन् वा आउन दिइँदैन ।

नेपाली कांग्रेस र कोइरालाको सक्रियता
कांग्रेस भारतमा मात्रै होइन, नेपालमा समेत नेपाली कांग्रेस संकटमा छ । तत्कालीन एमाले र माओवादी मिलेर चुनाव लड्दा कांग्रेसको अवस्था बिग्रिएको देखियो । संस्थापन बीपी कोइरालाको आदर्शमा चल्ने कांग्रेस पार्टीको नेतृत्व चुनावताका कोइरालाले गरेका थिएनन्, सभापति थिए शेरबहादुर देउवा ।

देउवा आफू डडेल्धुराबाट जितेपनि पार्टीलाई जिताउन सकेनन् । त्यसपछि कोइराला परिवारका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइराला देउवामाथि खनिए । अब पार्टीलाई उकास्न कोइराला परिवार एकजुट भएको, अगाडि सरेको, आगामी नेतृत्वको दाबी गरेको लगायतका संकेत देखिएका छन् ।

महाधिवेशनको तयारीमा रहेको कांग्रेसमा कोइराला परिवारबाट शशांक वा शेखरले सभापतिसम्म ताक्ने गरी तयारी गरिरहेको चर्चा चल्ने गरेको छ । शेखर कोइराला सभापति देउवाविरुद्ध बढी आक्रामक देखिएका छन् । तर कोइराला परिवारमै नेतृत्व आउँदा कांग्रेसको अवस्था उकासिएला त ?

भारतमा गान्धी परिवारको विरासत अमेठी सीटसँग जोडिएजस्तै नेपालमा कोइराला परिवारको विरासत विराटनगरसँग जोडिन्छ । तर मोरङमा कोइराला परिवारको विरासत डा। शेखर कोइरालाले बचाउन सकेनन् । उनी तत्कालीन नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितसँग पराजित भए । आफ्नो क्षेत्र समेत जोगाउन नसक्ने शेखरले कांग्रेस पार्टीलाई नै उकास्न सक्लान् ? यो राजनीतिक बहसको प्रश्न बन्न सक्छ ।

बीपीपुत्र शशांक कोइराला भने पार्टी राजनीतिदेखि संसदीय राजनीतिसम्म अगाडि देखिएका छन् । पार्टीमा निर्वाचित महामन्त्री भइसके भने कोइराला विरासत नभएपनि आफ्नो क्षेत्र नवलपरासीबाट लगातार तीन पटक जितिसकेका छन् । देशभर कांग्रेसमाथि संकट आइलागेका बेला समेत उनले जितेर अहिले सांसद छन् ।

डाक्टरी पेशामा आवद्ध भएर पछिल्लो दशकमा मात्रै सक्रिय राजनीतिमा आएका हुन् शशांक र शेखर । तर छोटो समयमै पार्टीको नेतृत्वमा पुग्न प्रयास गरिरहेका छन् । यसको एउटै कारण हो – कोइराला परिवारको विरासत । बीपी, गिरिजा र सुशील कोइराला सँगसँगै राजनीति गरेका थुप्रै नेता पार्टीमा अहिले पनि क्रियाशील छन् । तर कोइराला परिवारबाट नै नेतृत्वमा पुग्ने प्रयास छोटो समयमै शशांक र शेखरले गरिरहेका छन् ।

पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका कृष्णप्रसाद सिटौला ओझेलमा परेका छन् । उनी पार्टीमा महामन्त्री भइसकेका र अनुभवी नेताका रुपमा चिनिन्छन् । पार्टीको महाधिवेशनमा सभापति उम्मेदवार भएपनि उनले जित्न सकेनन् । पार्टीमा लामो समय कार्यवाहक सभापति भएका रामचन्द्र पौडेल पनि अनुभवी नेता नै मानिन्छन् । तर अब उनी पनि पाखा लाग्ने अवस्था देखिँदै गएको छ ।

देशमा वामपन्थी पार्टी नेकपाको शक्तिशाली सरकार भएका बेला फेरि कोइराला परिवार पार्टी नेतृत्वमा फर्किने र अवस्था उकास्ने अभ्यास गरिरहेका छन् । राजनीतिमा परिवारवाद संकटमा पर्दै गएको बेला कोइराला परिवारले कांग्रेसलाई कति उकास्न सक्ला ? यो प्रश्नको जवाफ भविष्यले दिनेछ ।