काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गर्दा सरकारको नेतृत्व आलोपालो गर्ने भनिएको सहमतीबारे मुख खोलेका छन् ।
प्रचण्डले अध्यक्षद्धय केपी शर्मा ओली र आफुबीच सरकारको नेतृत्व आलोपालो गर्ने भनि गरिएको सहमति अनुसार साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पनै गर्न नसक्ने बताएका छन् ।
प्रचण्डले एक टेलिभिजन अन्तरवार्तामा भने, ‘सहमतिका आधारमा नै पार्टी एकता भएको हो, सरकारको नेतृत्वका विषयमा आलोपालो गर्ने सहमती लिखितै छ । तर मलाई प्रधानमन्त्री पद लिन हतारो छैन ।’ उनले विगतमा भएको सहमतिअनुसार नै अगाडि बढ्ने स्पष्ट पारेका छन् ।
उनले पार्टीभित्र सहमति भएको खण्डमा ओलीलाई ५ बर्षसम्म नै प्रधानमन्त्री चलाउन दिन पनि सकिने बताए । विकासको गति राम्रोसँग चल्यो भने, आफूले पार्टीको नेतृत्व गरेर अघि बढ्ने र ओलीले सरकार चलाउने ‘कन्डिसन’मा आफूलाई सहज हुने पनि प्रचण्डले बताएका छन् ।
एकता गर्दा भएको सहमतिमा आफूले कुनै आशंका नगरेको बताउँदै उनले समय आएपछि अध्यक्ष केपी शर्मा ओलीले सत्ता हस्तान्तरण गर्न अप्ठ्यारो नमान्ने बताए । उनले भने, ‘मैले लिन पनि अप्ठ्यारो मान्दिन । राम्रो काम भयो र पार्टीभित्र सहमति भयो भने उहाँलाई नै ५ बर्ष चलाउन दिन पनि अप्ठ्यारो मान्दिन । उहाँले पार्टीको जिम्मा दिन पनि अप्ठ्यारो मान्न हुँदैन ।’




प्रतिक्रिया