पोखरा—‘आँखामा हाले पनि नबिझाउने लालगेडी जस्ता थिए रविन्द्र अधिकारी’ शनिवार पोखरामा आयोजना गरिएको एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदमा विगतमा रहेका एकजना सदस्य रहेका स्वर्गीय रविन्द्र अधिकारीका बारेमा यसो भने।
सभागृहमा रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन गरेपछि विशाल सभामा प्रधानमन्त्री ओलीले शनिबार सम्बोधन गर्दै स्वर्गीय अधिकारीको बारेमा त्यती मात्र भनेर रोकिएनन्, ‘मैले रविन्द्रलाई २०३९ सालमा चिने देखि जतिपल्ट भेटें नमुस्कुराएको चेहरा कहिले देखिन । जस्तै समस्या आएपनि हसिलो मुहार उनको पहिचान थियो।’
मञ्चको दाँयाबाँया रविन्द्रका हसिला तस्विर टाँगिएका थिए । ओलीको मन्त्रिमण्डलमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री रहेका अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । रविन्द्र बारे प्रधानमन्त्रीले भावुक हुँदै भने, ‘रविन्द्रले जींउदो हुन्जेल कसैका आँखामा हाँसु आउन दिएनन् । मरेपछि कसैका आँखा पनि आँसु बिनाका भएनन् ।’
चिनेको ३५ बर्षपछि आफ्नै मन्त्रिपरिषदको सदस्य भएपछि रविन्द्रसँग झन् धेरै सामिप्य भएको प्रधानमन्त्री ओलीले स्मरण गरे। ‘जतिसुकै संकट पर्दा पनि प्रशन्न चित्तको मान्छे” प्रधानमन्त्री ओलीले भने, ‘मेरो मन्त्रिपरिषदमा पोखराले अत्यन्तै सक्षम व्यक्ति दिएको थियो ।’
रविन्द्रले छोटो समयमा लामा पदचाप छोडेर गएको प्रधानमन्त्री ओलीले बताए। ‘रविन्द्रको यात्रा छोटो भयो तर लामा पदचाप छोडेर जानुभयो,’ ओलीले भने, ‘रविन्द्रले छोडेका पदचाप हामीले पछ्याउनु पर्दछ ।”
अधिकारीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठान सञ्चालनका लागि सरकारले १ करोड रुपैंया उपलब्ध गराउने प्रधानमन्त्री ओलीले घोषणा गरे।




प्रतिक्रिया