सीमारेखाले छेकेन आत्मीयता

सीमारेखाले छेकेन आत्मीयता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर – बस्तीको बीचमा फराकिलो बाटो। नजिकै नेपाल–भारत सीमा छुट्ट्याउने ११२ नम्बरको जंगे पिलर। बाटो पश्चिमतिर भारतीय बस्ती र पूर्वतर्फ नेपाली बस्ती। नेपालतिर अलिक व्यवस्थित बस्ती छन् भने भारततिर फुसले बारेका झुप्रा।

दुई बस्तीका मानिसको भौगोलिक सिमाना र नागरिकता फरक। तर, दुई क्षेत्रका बासिन्दाबीच मनपेट एउटै। झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारी वारि र पारिका बासिन्दाको आत्मीयलाई भौगोलिक सिमानाले छेकेको छैन। साह्रोगाह्रो र मर्दापर्दा एकअर्कालाई साथ दिन उनीहरू अघि सर्छन्।

पारिपट्टिकी एक महिलाले मुठीभरि जिरा पैंचो लिएर गइन्। ‘मेरो भारतीय छिमेकी दिदी हो,’ स्थानीय साबिरा आलमले भनिन्, ‘यहाँ यस्तै सरसापटी र ऐंचोपैंचो चल्छ।’ उनका अनुसार दुई छिमेकीबीच भारतीय र नेपाली भन्ने छैन। परेका बखत सबैले सरसहयोग गर्छन्।

भारततिर आधारभूत सुविधा शून्य छ। नेपालतिर आधारभूत सुविधा राम्रो पाएका नेपालीको बसोबास छ। ‘मेरो चार पुस्ताले यही ठाउँमा जीवन बिताए,’ श्री आधारभूत विद्यालयका शिक्षक मोहम्मद केसमुदिन हक भन्छन्।