काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नागरिकलाई आफु खुशी धर्म र संस्कृति अवलम्बन गर्ने हक रहेको बताएका छन् ।
मुस्लिम धर्मावालम्वीहरुको महान चाड ईद उल फित्रको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘हरेक नेपालीको धार्मिक तथा साँस्कृतिक जीवनमा हर्षोल्लासका साथ सहभागी हुने अधिकार सुनिश्चित गरिएको छ’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उत्साहको यही परिवेशमा आर्थिक–सामाजिक रुपान्तरणको ध्येयका साथ सारा देश समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर छ ।’
उनले संविधानले धार्मिक र साँस्कृतिक स्वतन्त्रता सहितको धर्म्निरपेक्षतालाई सुनिश्चित गरेको स्मरण गरेका छन् । ‘नेपालका मुस्लिम समूदाय लगायत सबैको धार्मिक तथा साँस्कृतिक अधिकारहरुको प्रत्याभूति भइसकेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘देशमा इस्लाम धर्मावलम्वीहरुको धार्मिक स्वतन्त्रता तथा हक–अधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्था अनुरुप मुस्लिम आयोग पनि क्रियाशील छ ।’
मुस्लिम धर्मावलम्बीहरुको सम्मान गर्दै सरकारले आज सार्वजनिक विदा दिएको पनि प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।




प्रतिक्रिया