उदय सिंह श्रेष्ठ
नेपालगन्ज – बाँके जिल्लाभित्र खुलेका अधिकांश मेडिकल पसलले वाणिज्य कार्यालयमा दर्ता नै नगराई पसल संचालनमा ल्याएको गुनासो आएता पनि वाणिज्य कार्यालयले कुनै चासो नलिएको बताइएको छ ।
बाँके जिल्लाभित्र संचालनमा रहेका मेडिकल पसललाई बैंकबाट ऋण चाहिएको खण्डमा मात्र वाणिज्य कार्यालयमा पसल दर्ता गराउने र नभए औषधी व्यवस्था कार्यालयको अनुमति पत्र अनुसार मेडिकल पसल संचालनमा ल्याएको बताइएको छ ।
बाँके जिल्लामा संचालित औषधी पसलले व्यापारिक प्रयोगमा राखिएको ग्लुकोज, सेनेटरी प्याड, टिस्यु पेपर, दाँत माज्ने ब्रश, सुगर फ्रि, सेरेल्याक, दुध लगायत चकलेटहरु समेत बिक्री वितरण गरीरहेको तथा ती सामानहरुको कुनै विल भरपाई समेत नहुने हुनाले नियम विपरित मेडिकल पसल संचालनमा आइरहेको बताइएको छ ।
आजभोलि कुनै पनि मेकिडल पसलमा जाँदा औषधी पसल किराना पसलमा परिणत हुन लागेको जस्तो देखा पर्ने गरेको अधिकांश उपभोक्ताले बताएका छन् । नेपाल सरकारको नीति नियम विपरित संचालनमा आएका यस्ता मेडिकल पसलको विषयमा वाणिज्य कार्यालय, औषधी व्यवस्था कार्यालय र आन्तरिक राजस्व कार्यालयले चासो राख्नु पर्नेमा १०–५ बजेको ड्यूटी भ्याउने मात्र कार्य भएको देखिएको छ ।
औषधी व्यवस्था कार्यालयलाई यो विषयमा जानकारी हुँदा पनि अहिलेसम्म कुनै किसिमको वास्ता भने गरेको छैन भने आन्तरिक राजस्व कार्यालयले भ्याटमा दर्ता भएका ठुला व्यापारीलाई मात्र हेर्ने गरेको पाइएको छ । बाँके जिल्लामा संचालित मेडिकल पसलले वाणिज्य कार्यालयमा दर्ता नगराई त्यस्ता पसल संचालनमा ल्याएको थाहा हुँदा पनि अहिलेसम्म यो विषयमा कुनै चासो भने देखाएको छैन ।
स्थानिय प्रशासन कार्यालयको अगुवाई कहिलेकाही वाणिज्य कार्यालय निकै नै चनाखो भएर अनुगमनमा हिड्ने गरेको पाइएपनि कार्यालयको दायित्वमा पर्ने अनुगमन अन्तरगत आफु खुशी त्यस्ता मेडिकल पसलमा अनुगमन गर्न समेत नगएको बताइएको छ । यो विषयमा वाणिज्य कार्यालयलाई सम्पर्क गर्दा अनुगमन गर्न जाने हो भन्दै आलटाल गरेको तथा अहिलेसम्म कुनै पनि मेडिकल पसलमा अनुगमन गर्न नगएको समेत गुनासो गरिएको छ ।
यसैगरी औषधी विक्रीवितरण आधिकारिक रुपमा लाइसेन्स प्राप्त गरेको व्यक्तिको उपस्थितीमा औषधी बिक्री वितरण गर्नु पर्नेमा सामान्य नयाँ कर्मचारीबाट औषधी बिक्री वितरण गरेको गुनासो यथावत नै पाइएको छ ।
डाक्टरलाई चेकजाँच गराउँदा ५ सय शुल्क तिर्नु पर्ने भएकोले गाउँले त्यस्ता नयाँ कर्मचारीलाई आफ्नो पीडा बताउँदै औषधी सेवन गरेको समेत बताइएको छ । डाक्टरको प्रिसकिप्सनमा औषधी बिक्री वितरण गर्नु पर्ने नीति नियम भएता पनि औषधी पसल मालिकले आफु खुशी औषधी बिक्री वितरण गरेको समेत बताइएको छ ।

सामान्य रुपमा अत्यधिक चलन चल्तीमा रहेको औषधी स्थानिय डिलरसँग खरिद नगरी बोर्डरको रुपैडिहा बजारको पुजा मेडिकल हलबाट भन्सार छलेर ल्याई उपभोक्तालाई बिक्री वितरण गर्ने गरेको समेत स्रोतले बताएको छ । सामान्यतया औषधी खरिद गर्दा उपभोक्ताले विल नलिने कारणले औषधी पसलले विशेष फाइदा लिईरहेको बताइएको छ ।
मेडिकल पसलमा व्यापारिक हिसाबले सामान बिक्री वितरण भइरहेको थाहा पाउँदा पनि वाणिज्य कार्यालय र औषधी व्यवस्था कार्यालय अनुगमन नजानु अहिले ठुलो रहस्य बन्न गएको छ । यसैगरी सिसिटिभी क्यामराको लागि स्थानिय प्रशासन कार्यालयबाट पुर्व स्वीकृत लिएर राख्नु पर्ने अधिकांश पसलहरुले आफु खुशी सिसिटिभी क्यामरा जडान गरिएको पाइएको छ । यस विषयमा स्थानिय प्रशासनले आकलझक्कल अनुगमन गरेजस्तो गरेर फाइल बन्द गर्ने कार्य मात्र गरेको देखिएको छ ।




प्रतिक्रिया