मैना सुनुवार हत्या प्रकरणमा पुनः फाइल मगाउन सर्वोच्चको आदेश


काठमाडौं- मैना सुनुवार हत्या प्रकरणमा सर्वोच्च अदालतले जिल्ला अदालत र नेपाली सेनासँग पुनः फाइल मगाएको छ ।

द्वन्द्वकालमा बलात्कारपछि हत्या गरिएकी काभ्रेकी १५ वर्षीया मैना सुनुवार प्रकरणमा पहिलो पटक सेनाले सरकार विरुद्ध सर्वोच्चमा हालेको मुद्दाका फाइल नआएपछि दोस्रो पटक सर्वोच्चले फाइल मगाएको हो ।

पहिलो पटक मगाएको फाइल नआएपछि आज प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले पुनः फाइल मगाउने आदेश गरेको हो।

यसअघि न्यायाधीशद्वय चोलेन्द्र शमसेर राणा र टंकबहादुर मोक्तानको इजलासले जिल्ला अदालतका फैसला, नेपाली सेना र सैनिक अदालतले गरेका कारबाही सम्बन्धी निर्णयहरुको फाइल मगाउने आदेश दिएको थियो ।

नेपाली सेनाका अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीले द्वन्दकालमा मैना सुनुवारलाई पक्राउ गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत काभ्रेले वैशाखमा जन्मकैद सजायको फैसला सुनाएको थियो।

नेपाली सेनाको तर्फबाट अख्तियार प्राप्त कानुन विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कटवाललाई वारेस राख्दै तीन जना सैनिक अधिकृतमाथि सुनाइएको जन्मकैद फैसला बदरको माग गर्दै सर्वोच्च रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement