काठमाडौं – नेपालको चौधरी ग्रुप (सीजी) ले चिनियाँ हुवावे टेक्नोलजिज कम्पनीसँग नेपालमा फोरजी सेवाको लागि सम्झौता गरेको छ ।
सीजीले हुवावेसँग उक्त सेवाका लागि १० करोड अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । मंगलबारको डलर भाउअनुसार उक्त रकम ११ अर्ब नेपाली रुपैयाँ हुन आउँछ । सीजीका प्रवक्ता मधुसूदन पौडेलले पनि फोर जी सम्बन्धमा हुवावेसँग सम्झौता भएको पुष्टि गरे ।
नेपालको मोबाइल फोन बजारमा भारतमा रिलायन्स इन्डस्ट्रिज लिमिटेडको जिओले जस्तै सीजीले फोरजी नेटवर्कका लागि प्रारम्भिक रुपमा २५ करोड डलर लगानी गर्ने एक अन्तर्वार्ताको क्रममा ग्रुपका प्रमुख विनोद चौधरीले बताएका छन् । यसले निःशुल्क भोइस सेवालाई समेत जोड दिए पनि डाटा, अनलाइन भुक्तानी र अन्य सेवालाई मुख्य लक्ष्य गर्ने चौधरीले जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ ।
नेपालबाट वाइवाइ चाउचाउमार्फत उदाएको चौधरीको व्यवसाय हाल एसिया, युरोपमा विस्तार भएको छ । सम्झौतासँगै हुवावेले १० करोड डलर मूल्यका फोरजीसम्बन्धी वस्तुहरु आपूर्ति गर्नेछ । जुन पछि फाइभजी प्रविधिमा ‘अपग्रेड’ हुने चौधरीको भनाइ छ ।
सीजीले अहिले पनि नेपालका ग्रामीण क्षेत्रमा फोनसेवा प्रदान गरिरहेको छ ।




प्रतिक्रिया