काठमाडौं – बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेलगत्तै फरार रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरीले आज आत्मसमर्पण गर्ने भएका छन् ।
उनले सर्वाेच्च अदालतमा उपस्थित भएर आत्मसमर्पण गर्न लागेको परिवारिक स्रोतले जनाएको छ ।
संयुक्त राष्ट्र संघअन्तर्गत सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको बन्दोबस्ती सामान (एपीसी) खरिद प्रकरणमा अनियमितता पुष्टि गर्दै उनीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) श्यामसिंह थापा र दीपकसिंह थाङ्देनलाई समेत सर्वोच्चले भ्रष्टाचारी ठहर गरेको थियो । ठकुरीबाहेक अन्य चारैजनाले यसअघि नै कैद सजाय भुक्तान गरिसकेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनका आधारमा दायर भएको सुडान घोटालासम्बन्धी मुद्दामा विशेष अदालतले भने १ फागुन २०६८ मा दुई जना एआईजीबाहेक राणा, गुरुङ र ठकुरीलाई भ्रष्टाचारी साबित गर्दै एपीसी खरिदको ४४ करोडमध्ये २८ करोडभन्दा बढी भ्रष्टाचार भएको भन्दै तीन जनाबाट २८ करोड असुल गर्न निर्देशन दिएको थियो ।




प्रतिक्रिया