देशभर बाढी र पहिरो अपडेट : ८ जनाको मृत्यु, ४ जना वेपत्ता


काठमाडौं – तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परि ८ जनाको ज्यान गएको छ भने बाढीले बगाएर चार जना वेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर भोजपुरमा दुई जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यसैगरि, पहिरोले घर पुर्दा काभ्रेको बनेपामा पनि दुई जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । बनेपा नगरपालिका–३, चुनतालमा पहिरोले घर बगाउँदा हजुरआमा गोमा दंगाल र उनकी नातिनी सुहावी दंगालको ज्यान गएको हो ।

यस्तै गोठ भत्किँदा रामेछाप नगरपालिका–५, रामपुरकी पदमकुमारी सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै सिन्धुलीको फिक्कल गाउँपालिका–१, महादेवडाँडाकी हेमकुमारी सुनुवारको पहिरोले बगाएर ज्यान गएको छ । बिहान गाईबस्तुलाई कुँडो दिँदै गर्दा पहिरोले गोठ बगाउँदा सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।

मकवानपुरको थाहा नगरपालिका–७, आग्राको बाल्चा भिरमा चिप्लेर लड्दा रौतहटको जितपुर नगरपालिका–६, का उमेश यादवको ज्यान गएको छ । थाहा नगरपालिका वडा नम्बर–३, मा महाभिर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चनम बलामीको पनि ज्यान गएको छ ।

पहिरोले घर पुरिएपछि खोटाङको खोटेहाङ गाउँपालिका–२, वाप्लुखामा तीन जना वेपत्ता भएक छन् । बिहान पहिरोले विष्णु राईको घर पुर्दा उनकी श्रीमती रेखा राई र दुई नावालक छोरा हराएको प्रहरीले जनाएको छ ।

यस्तै, बिहिबार बेलुकी आएको बाढीले डाइभर्सन बगाउँदा मोरङमा मोटरसाइकलमा आएका एक जनालाई खोलाले बगाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement