काठमाडौं – वर्षा आफैंमा विपद् होइन, वर्षाले किसानदेखि आम नागरिकलाई फाइदा नै पुर्याउँछ । तर वर्षापछि आउने बाढी, पहिरो, ढुवान लगायतका अवस्था विपद्का रुप हुन् । देशका अधिकांश क्षेत्रमा बिहीबारदेखि परिरहेको अविरल वर्षाले एकैदिनमा शुक्रबार १९ जनाको मृत्यु भयो, त्यत्तिकै संख्यामा घाइते भए भने केही बेपत्ता भएका छन् ।
एकैदिन धेरै मानवीय र जनधनको क्षति हुने गरी वर्षाले विपद्को रुप किन लियो ? विपद्बाट बच्न वा क्षति न्यूनीकरण गर्न सकिँदैन ? विपद्बाट बच्न सकिन्छ, त्यसका लागि पूर्व सावधानी अपनाउनुपर्छ । व्यस्त जनजीवनमा मान्छेले पूर्व सावधानीमा समय दिन सकेको देखिँदैन, सरकारले समेत यसमा खासै वास्ता गरेको छैन । व्यस्त हुँदा गरिएको लापरवाहीले मान्छेले फुर्सदमा त्रस्त हुनुपरेको छ ।
पूर्व सावधानी कसरी अपनाउने ?
वर्षा हुँदा आउनसक्ने सम्भावित जोखिम र त्यस्ता क्षेत्रबारे सरकारी र सामुदायिक स्तरबाट अध्ययन हुनुपर्छ । जोखिमको वास्तविक पहिचान गरेर समाधानका उपाय खोजिनुपर्छ । मुख्यगरी खोला, नदी आसपास र भिरालो क्षेत्रमा बाढी र डुवानको बढी खतरा रहेको हुन्छ ।
कमजोर पहाड भएको क्षेत्रमा पहिरोको खतरा हुन्छ । जथाभावी डोजर चलाएर सडक खन्ने, वन फडानी गर्ने लगायत कारणले पछिल्लो समय पहिरोको जोखिम समेत बढ्दै गएको छ । सम्भावित जोखिमको पहिचान गरेर त्यसबाट बच्ने उपायबारे समयमै सोच्नुपर्ने हो । तर आपत् परेपछि मात्रै सबैले सोच्ने प्रवृत्ति देखिएको छ, जसले गर्दा एकैदिन १९ जनाको मृत्यु भयो ।
मानवीय क्रियाकलापले खोला खुनिने र पहाडमा पहिरो जाने घटना समेत सुनिने गरेका छन् । यसबाट बच्न पानी बग्ने खोला र पहाडको बचाउ र वृक्षारोपणमा ध्यान दिनुपर्छ, प्रकृतिमाथि जथाभावी दोहन गर्न खोज्दा प्रकृतिले अवश्य नै क्षति निम्त्याउँछ । खोला अतिक्रमण गरेर घर र भौतिक संरचना बनाएपछि खोला कहाँ बग्ने ? यसबाट खोलाले नयाँ बाटो खोज्ने र पूरानै बाटोमा बनेका संरचनामा क्षति पुर्याउने स्वभाविक हो । झन् जनघनत्व र भौतिक संरचना धमाधम निर्माण भइरहेका क्षेत्रमा धर्तीले पानी सोस्ने अनुपात समेत हट्दै जान्छ । जसबाट खोलामा बग्ने पानीको मात्र बढेको छ । पानीको मात्रा अनुसार खोलाको आकार बढ्नुपर्नेमा अतिक्रमणको चपेटामा खोलाको आकार घटिरहेको छ, जसबाट क्षति बढ्ने नै भयो ।
जोखिमको पहिचान गरी तटबन्ध गर्र्ने, खोला सफाइ गर्ने, वस्ती स्थानान्तरण गर्ने लगायतका उपाय अपनाउन सकिन्छ । सम्भावित जोखिमबारे थाहा पाउन पूर्व सूचना प्रणालीको स्थापना र व्यवस्थापन गर्न सकिन्छ । तर यसतर्फ संघ, प्रदेश वा स्थानीय सरकार कसैले पनि ध्यान दिएको देखिँदैन ।
शुक्रबार कहाँ–कहाँ देखियो जोखिम ?
अविरल वर्षाका कारण रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर, झापा र पर्सामा १९ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रभावित क्षेत्रमा सुरक्षा निकाय परिचालन भएर खोज तथा उद्धार कार्य भइरहेको छ । मुलुकका विभिन्न भागमा पानी पर्ने क्रम अझै रोकिएको छैन, अधिकांश क्षेत्र जलमग्न भएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई दिनसम्म वर्षा हुने सम्भावना रहेको छ ।
वर्षापछि आएको पहिरोको कारण कतिपय क्षेत्रमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् भने यात्रु बाटोमै अलपत्र परेका छन् । सुरक्षा निकायले पहिरो हटाएर सडक सुचारु गर्ने प्रयास गरिरहेको छ ।
दीर्घकालीन समाधान के ?
खोलाको अतिक्रमण हटाउने र अतिक्रमण रोक्नु नै बाढी र डुवानको दीर्घकालीन समाधान हो । पहाडमा पहिरोको जोखिम कम गर्न वृक्षारोपण गर्ने, जथाभावी डोजर नचलाउने र जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरण गरिनुपर्छ । दीर्घकालीन समाधान विना जोखिमको स्थायी समाधान हुँदैन । प्रकृतिमाथि भइरहेको अनियन्त्रित दोहनले प्रकोप र विपद् निरन्तर निम्त्याइरहने छ ।




प्रतिक्रिया