नेपाली सेनाको कमाण्ड तथा स्टाफ तालिम सुरु

नेपाली सेनाको कमाण्ड तथा स्टाफ तालिम सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली सेनाले कमाण्ड तथा स्टाफ तालिम औपचारिक रूपमा शुभारम्भ गरेको छ। शुक्रबार रक्षा मन्त्रालयअन्तर्गत सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित कार्यक्रममा सी.सं. ३३औं कमाण्ड तथा स्टाफ तालिमको उद्घाटन गरिएको हो।

तालिमको शुभारम्भ गर्दै प्रमुख अतिथि प्रदीप जंग केसीले सहभागी अधिकारीहरूबीच अनुभव आदान–प्रदानको महत्व औंल्याउँदै तालिमपश्चात् अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेशको विश्लेषणसहित व्यवहारिक योजना निर्माण गरी कार्यान्वयन गर्न सक्षम बन्नुपर्ने बताए।

मध्यम तहका अधिकारीहरूको नेतृत्व तथा स्टाफ क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा नेपाली सेनाका महिला ४ जना सहित १७ अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू सहभागी छन्। साथै म्यानमार, चीन तथा अमेरिका, बेलायत, बंगलादेश, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका प्रतिनिधिसहित १० विदेशी अधिकारी गरी कुल २७ जना प्रशिक्षार्थी सहभागी भएका छन्।

वि.सं. २०४५ सालमा स्थापना भएको उक्त कलेजले हालसम्म नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा विभिन्न मित्रराष्ट्रका गरी १५०० भन्दा बढी अधिकारीलाई तालिम प्रदान गरिसकेको छ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, कलेजका पूर्व शिक्षाध्यक्ष, प्राध्यापक, सैनिक अधिकृत तथा प्रशिक्षार्थीका परिवारजनको उपस्थिति रहेको थियो।