काठमाण्डु– प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा एकसाथ निर्देशन दिएका छन्।
बुधबार भर्चुअल सम्मेलनमार्फत आयोजित कार्यक्रममा कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा राजमार्ग र ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।
सम्मेलनमा प्रहरी गण तथा गुल्मका प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख र प्रहरी निरीक्षकको नेतृत्वमा रहेका अन्य प्रहरी कार्यालयका प्रमुखसमेत सहभागी थिए। नेपाल प्रहरीका विभागीय प्रमुखहरू उपस्थित थिए ।
देशभरका विभिन्न तहका प्रहरी कार्यालय प्रमुखलाई एकैसाथ सम्बोधन गर्दै आईजीपी कार्कीले समसामयिक विषयमा आवश्यक निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
तर कार्कीले दिएको निर्देशनबारे केही पनि खुलाइएको छैन। पछिल्लो समय सरकारले कार्कीलाई हटाउने तयारी गरिरहेको चर्चा चलिरहेको छ। उनको ठाउँमा एआईजीपी डा. मनोज केसीलाई ल्याउने चर्चाबीच कार्कीले सक्रियता बढाएका छन्।
पछिल्लो समय सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद खगेन्द्र सुनारले कार्कीमाथि विभिन्न आरोप लगाउँदै सार्वजनिक अभिव्यक्ति दिने गरेका थिए । तर उनी आफैं एक गम्भीर विवादमा मुछिएपछि सार्वजनिक गतिविधिमा देखिएका छैनन् । सुनारमाथि नै अहिले रास्वपाले छानबिन गरिरहेको छ।





प्रतिक्रिया