गौतमबुद्ध विमानस्थलको समयावधि पुस १६ सम्मका लागि थपियो

गौतमबुद्ध विमानस्थलको समयावधि पुस १६ सम्मका लागि थपियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्मका लागि थपिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आयोजना बाँकी काम सम्पन्न गर्न केही समय लाग्ने भएकाले समयावधि थप गरिएको हो।

प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने बताए। अहिले धावनमार्ग, ‘एप्रोन’, ‘ट्याक्सी बे’ को निर्माण भइसकेको छ । अब, भवनको ‘फिनिसिङ’ र ‘लाइटि’ को काम मात्र बाँकी भएकाले त्यो पनि छिट्टै सक्ने गरी काम अघि बढाइएको छ ।

विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत रहेको छ । विमानस्थलको तीन हजार ६० मिटरको धावनमार्गको मुख्य काम पनि सकिएको छ ।

सन् २०१७ को डिसेम्बर महीनामा निर्माण सक्ने लक्ष्यसहित निर्माण शुरु भएको विमानस्थलको यसअघि १८ जुन २०१८ मा सक्ने लक्ष्य गरिएको थियो । पछिल्लो पटक २८ जुन २०१९ भित्र निर्माण सक्ने योजना थियो । उक्त विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ ।

विमानस्थल निर्माणमा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोग छ । सन् २०१४ को डिसेम्बर ३१ बाट निर्माण शुरु गरिएको गौतमबुद्ध विमानस्थलकोे छ अर्ब २२ करोड ५१ लाख लगानी रहेको छ ।