काठमाडौं – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
आजबाट सुरु भएको केसीसी एक्जिबिट २०१९ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले कान्तिपुर सिटी कलेजले यस्तो कार्यक्रममार्फत् युवा क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोड्न योगदान पु¥याएको बताए ।
उनले युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनमा केन्द्रित गराउनुपर्ने आवश्यकता औँल्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको अवसरलाई युवा क्षेत्रले चाँडो उपयोग गर्नुपर्ने बताए ।
निपुण विचार, दीगो उपाय मूल नारा रहेको उक्त प्रदर्शनीमा सूचनाप्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका २६ भन्दा बढी नवीनप्रदर्शनी, २ वटा गेमस्टल, ४ वटा खाजा स्टल राखिएको छ ।
प्राध्यापक रामकृष्ण रेग्मीले यस प्रदर्शनीलाई दीगो विकास लक्ष्यतर्फ नेपालको पाइलालाई सहयोग गर्ने सानो प्रयास भएको बताए । उनले राष्ट्रिय समस्याहरू समाधान गर्ने क्रममा दीगो उपाय पत्ता लगाउन युवाको भूमिकामा चर्चा गरे । सूचना–प्रविधिमार्फत् सशक्तिकरण गर्दै यस्तो उपायगर्न सकिने उनको दाबी छ ।
नेपाल सरकारको सूचनाप्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सूचना–प्रविधिलाई सजिलोको लागिमात्रनभई दीगोपनका लागि समेत प्रयोग गर्न आह्वान गरे ।
कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले दीगो विकासकालक्ष्यलाई सम्बोधन गर्न नयाँपन चाहिने बताए ।
नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष ई. डिल्लीरमण निरौलाले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न नेपालमा गुणस्तरीय र उत्पादनमूलक शिक्षा आवश्यक रहेको बताए । हालै दुईवटा कलेजलाई भर्ना लिन नपाउने गरी पत्र काटेको भन्दै उनले स्तरीय इन्जिनियरिङ शिक्षामा जोड दिए ।
कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष सुमन कटवालले विगत देखिका प्रदर्शनीबारे बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कलेजका प्रिन्सिपल राजु कट्टेलले स्वागत मन्तव्य राखे भने कार्यक्रमका संयोजक कुशल निरौलाले कार्यक्रमबारे प्रकाश राख्दै यसलाई मनोरञ्जन र ज्ञानको सम्मिश्रणका रूपमा चित्रण रेका छन् ।
सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सूचनाप्रविधिमा अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)ले केसीसी एक्जिबिट २०१९ आयोजना गरेको हो ।
कार्यक्रमको प्रमुख प्रायोजक माछापुच्छ्रे बैंक, सुबिसु, नेपाल टेलिकम, इ–सेवा, सगरमाथा इन्स्योरेन्स, कोकाकोला, अग्निमोटोइन्क प्रा.लि., इबीपल्र्स, इम्पलोइ प्रोभिडेन्ट फन्ड, नियोस्फेर, नेपाल दूरसञ्चार प्राधिकरण, सूचनाप्रविधि विभाग, राष्ट्रिय सूचनाप्रविधि केन्द्र, क्यान फेडरेसनलगायत रहेका छन् ।
कार्यक्रम भोलि शनिबारसम्म चल्नेछ । शनिबारका कार्यक्रममा ‘दीगोपनका लागि प्रविधि’ विषयक सम्मलेन, गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुति, बिनु शाक्यको नृत्य र लोकगायिका निशा जिएमलगायत विद्यार्थीका मनोरञ्जनात्मक प्रस्तुति हुनेछन् । कार्यक्रम बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । कार्यक्रममा दुई दिनमा २५ हजार अवलोकनकर्ताको अपेक्षा गरिएको छ ।




प्रतिक्रिया