पेट्रोलियम पदार्थमा नेपालले चिनियाँ सहयोग नलिने

पेट्रोलियम पदार्थमा नेपालले चिनियाँ सहयोग नलिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पेट्रोलियम पदार्थमा नेपालले चिनियाँ सहयोग नलिने भएको छ ।

नेपाल आयल निगमले इन्धन आयातमा भारतले कर नलिने गरेको र चीनबाट खरिद गर्दा पेट्रोलियम पदार्थको मूल्य बढी पर्ने भएकाले व्यवसाहिक सम्बन्ध अघि बढाउन नसकिने बताएको छ ।

सन् २०१५ मा भारतले लगाएको आघोषित नाकाबन्दीपछि उत्पन्न परिस्थितिमा नेपालले चीनबाट एकतिहाइ पेट्रोलियम पदार्थ किन्ने र चीनले इन्धन आपूर्ति भण्डार स्थापना गरिदिने वाचा गरेको थियो । तर अब त्यो सहयोग नचाइने नेपाल आयल निगमले जनाएको छ ।

‘अहिले निगम आफैँ सक्षम छ । हिजो जुन परिस्थितिमा माग्ने भन्ने कुरा भयो त्यसबेला हामी आफैँ नोक्सानमा थियौं । अब हामी दाताहरूकोमा जाने पक्षमा छैनौँ र हामी आफैँ गर्न प्रयास गरिरहेका छौँ’ नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने ।

उनले ९० दिन पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्ने नीति राज्यको रहेको भन्दै त्यसका लागि क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यक्ता रहेको उल्लेख गरे । त्यसबेला अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले इन्धन आयातमा भारतसँगको मात्रै निर्भरता अन्त्य गर्दै चीनसँग पेट्रोलियम पदार्थको व्यावसायिक खरिदसम्बन्धी सम्झौता अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको गरेको थियो ।

चीनले साङ्केतिक रूपमा आफ्नो कठिन भौगोलिक मार्ग हुँदै एक हजार मेट्रिक टन पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नेपालसँगको सीमावर्ती नाकासम्मै पठाएको थियो ।