काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले कम्युनिष्टहरुको एकतालाई निर्वाचन मार्फत नेपाली जनताले दिलैदेखि गरेको स्वागत र अनुमोदनको योगदानलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताएका छन् ।
वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्वारा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
‘नेपाली जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याई पुर्याइदियो । हामी असफल भयौं भने नेपाल राष्ट्र असफल हुन्छ । राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ,’ उनले भने।
प्रचण्डले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली स्थापना गरेको जनतालाई बोझ थप्न नभएको भन्दै जनतामा भएको बोझलाई हल्का गर्न र जनतालाई सेवा प्रदान गर्नका लागि भएको बताए। सबैले कर उठाएर करको भार जनताको थाप्लोमा थोपर्ने विल्कुल उद्देश्य नभएको उनको भनाई थियो । ‘हामीले त जनतालाई घरदैलोमा नै सेवा दिने भनेका हौं । हामीले रोपेको एउटा अर्कै उम्रेला जस्तो भएको छ,’ उनले भने।
प्रचण्डले अहिले हामी ढिलै भएपनि पार्टी एकतालाई अन्तिम रुप दिने ठाउँमा आई पुगेको बताउँदै अबको दशक भनेको समृद्धि र विकासको दशक भएको स्पष्ट पारे। उनले सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीको बलियो सरकार सबैका लागि अवसर हो भन्दै जनतालाई बलशाली बनाउने कार्यमा सबै पक्ष लागी पर्न अपील पनि गरे।
‘सबै प्रगतिशील, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामहरुलाई अगाडि बढाउने अवसर नेपालमा फेरि प्राप्त हुन्छ कि हुन्न । यो भन्दा राम्रो अवसर हुनै सक्दैन। हामीले वन पैदावरको वैज्ञानिक व्यवस्थापनका लागि अझै धेरै गर्न काम बाँकी छ, ’ उनले भने। प्रचण्डले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुसार निर्वाचन र त्यस अन्तर्गत ऐन नियमहरुको निर्माणको प्रक्रियामा रहेको बताए।




प्रतिक्रिया