काठमाडौँ—नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक बुधबार बेलुका काठमाडौंमा सुरु भएको छ।
द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु-याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श भइरहेको छ ।
तीन वर्षपछि भएको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरवलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तार तथा पारस्परिक सम्बन्धका विविध विषयमा छलफल भइरहेको सरकारका अधिकारीहरुको भनाइ छ।
बैठकको सहअध्यक्षतासहित दुवै देशका विदेशमन्त्रीले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्। पैँतीस सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयको भारत महाशाखा प्रमुख, गृह, रक्षा, अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारी बैठकमा सहभागी छन् ।




प्रतिक्रिया