सांसद नवराज सिलवाल फरार अभियुक्त होइनन् : प्रहरी प्रवक्ता


काठमाडौं– नेपाल प्रहरीका प्रवक्ता डीआइजी मनोज नेउपानेले पूर्वडिआइजी एवं सांसद नवराज सिलवाललाई फरार अभियुक्त भन्न नमिल्ने बताएका छन्। आइतबार सांसदको शपथग्रहण पश्चात सांसद सिलवालले आफू जनताबाट निर्वाचित सांसद रहेको तर, फरार अभियुक्त नभएको बताएका थिए।

सिलवालमाथि कीर्तको आरोप छ। प्रवक्ता नेउपानले उनीविरुद्ध मुद्दा नचलेकाले फरार अभियुक्त भन्न नमिल्ने बताएका हुन्। पूर्ववर्ती सरकारको पालामा सिलवालमाथि कीर्त अभियोग लागेपछि प्रहरीबाट अनुसन्धान भएर उनको मुद्दा सरकारी वकिलको कार्यालयमा छ। तर, सरकारी वकिलले उक्त मुद्दामा कुनै निर्णय गरेको छैन। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिसोध साँधेको सिलवालको आरोप छ।

एमाले अध्यक्ष केपी शर्मा ओली ३ फागुनमा प्रधानमन्त्रीमा निर्वाचित हुनु अघिसम्म सरकारले सिलवालविरुद्ध मुद्दा चलाउने प्रयास गरेको थियो। त्यसमा विशेषगरी तत्कालीन प्रधानमन्त्री देउवा, मुख्यसचिव लोकदर्शन रेग्मी, आइजीपी प्रकाश अर्यालको चाँसो थियो। मुद्दा चलाउन नमान्दा काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकको सरुवा समेत भयो।

तत्कालीन सरकारका महान्यायाधिवक्ता बसन्तराम भण्डारीले सिलवालविरुद्ध मुद्दा चलाउने अन्तिमसम्म प्रयास गरेपनि सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानको मिसिल दिन नमानेपछि मुद्दा चलाउने प्रयास असफल भएको थियो। सर्बोच्च अदालतले आइजीपी नियुक्ति प्रकरणमा अदालतमा पेश भएका फरक फरक कार्य सम्पादन मूल्यांकनमा छानबिन गर्न आदेश दिएको थियो।

सरकारले सिलवालविरुद्ध अनुसन्धान थालेपछि उनी भन्दै आएका थिए, ‘म दोषी होइन। निस्पक्ष छानबिन हुनुपर्छ।’ लामो समयसम्म सार्वजनिक स्थानमा नदेखिएका सिलवाल शनिबार संसद भवनमा एमाले र माओवादी संसदीय दलको संयुक्त बैठकमा भाग लिन पुगेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement