काठमाण्डु – नेपालले भारत र बंगलादेशमा बिजुली बेचेर २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
नेपाल जिद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२–०८३ मा भारत र बंगलादेशमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको बिजुली बिक्री भएको हो ।
नेपालको ऊर्जा इतिहासमा यो हालसम्मकै सबैभन्दा ठूलो विद्युत् निर्यात र आम्दानी हो । आर्थिक वर्ष २०८१–०८२ को तुलनामा बिजुली बिक्री ६७.९६ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८१–०८२ मा नेपालले १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँको बिजुली बेचेको थियो ।
यो उपलब्धिबाट राजस्व मात्र बढेको छैन । यसले नेपालको जलविद्युत् क्षेत्र अब घरेलु आवश्यकता पूरा गर्ने माध्यम मात्र नभई राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने नयाँ आर्थिक आधार बन्न थालेको सन्देश दिएको छ ।
आयात घट्यो
बिजुली निर्यात बढ्दा आयात भने घट्दो क्रममा रहेको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०८१–०८२ मा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँको बिजुली आयात गरिएको थियो भने आर्थिक वर्ष २०८२–०८३ मा १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको मात्रै बिजुली आयात गरिएको छ ।
यससँगै नेपालले विद्युत् व्यापारबाट मात्रै करिब १९ अर्ब ७७ करोड रुपैयाँ खुद बचत गर्न सफल भएको प्राधिकरणको तथ्यांकले देखाउँछ।
प्राधिकरणले वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’ मा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
प्राधिकरणले भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)लाई पनि बिजुली बेच्ने गरेको छ । यहाँबाट खरिद गरेको बिजुली एनभीभीएनले हरियाणा राज्यमा आपूर्ति गर्दै आएको छ ।




प्रतिक्रिया