संविधानसभा भंग होस भन्नेमा अदृश्य शक्तिले दबाब दिएका थिए : पूर्वराष्ट्रपति यादव


काठमाडौं – गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन् ।

समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहको कृति ‘संविधान निर्माण घटना र अनुभूति’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले भने,‘२०६२-६३ सालको मात्र नभई नेपाली जनताको ७० वर्षको बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म हो ।’

पूर्वराष्ट्रपति यादवले भने,‘कतिपय शक्तिले संविधानसभा नै भङ्ग गर्न खोजिरहेको निकै अप्ठ्यारो समयमा कतिपय जातजाति र समुदायले उठाएका मुद्दा नसमेटिए पनि सबैको भावनालाई संविधानले आत्मसात गरेको छ, त्यसैले यो उपलब्धिको रक्षा गर्न राजनीतिक दलले निकै सोच विचार पु¥याएर काम गर्नुपर्छ ।’

संवैधानिक निकाय र न्यायालयमा सही मान्छेको छनौट भएको छ कि भागबण्डामा भनी प्रश्न गर्दै उनले सरकार र राजनीतिक दललाई अविश्वासको वातावरण अन्त्य गरी जनताको कुरा सुनेर काम गर्न आग्रह गरे ।संविधान जारी गर्दाताका राष्ट्रपति रहेका यादवले पहिलो संविधानसभा भंग होस भन्नेमा तत्कालीन समयमा राष्ट्रिय र अदृश्य शक्तिले दबाब दिएको खुलासा गरे। ‘शुदेखि नै राष्ट्रिय र अरु अदृश्य शक्ति संविधानसभा भंग होस भन्ने चाहन्थे।

तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान सबै राजनीतिक दलबीचको सहमति र सम्झौताको दस्तावेजका रुपमा रहेकाले सबैले उठाएका मुद्दा र विषय समेटिएको बताए ।

उनले भने, ‘संविधानमा परेका सबै विषयवस्तु निकै सोच र विचार गरेर राखिएको हुनाले संविधानमा कुनै त्रुटि र खराबी छैन, कसरी कार्यान्वयन गरेर अघि बढने सन्दर्भमा राजनीतिक दलका पदाधिकारीको क्षमता, वुद्धि र विवेकमा भरपर्दछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement