नेकपाले रोक्यो भनाभन

नेकपाले रोक्यो भनाभन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- पार्टीको शीर्ष तहका नेताहरू भनाभनमा उत्रिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरूका विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पार्टीका जिम्मेवार नेताहरू नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगबाट उठाउनुपर्ने निर्णय गरेको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा बसेको बैठकले सबै तहका नेता, कार्यकर्ता तथा सदस्यलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टीले विधानमा उल्लेख भएअनुसार प्रस्तुत हुन निर्देशन दिएको छ। पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिकरूपमा विरोध वा आलोचना नगर्न बैठकले निर्देशन दिएको छ।

पार्टीको नीति वा नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारबाहीको प्रक्रिया अघि बढाइने निर्णय भएकोे महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपाको सचिवालय बैठकले पार्टी नेताका बारेमा कुनै नेता, कार्यकर्ताले सार्वजनिकरूपमा टिप्पणी गरे स्पष्टीकरण सोध्ने र कारबाही गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।

नेता कार्यकर्ताले पार्टीको केन्द्रदेखि तलसम्म कुनै कुरा व्यक्तिगतरूपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्ने निर्णय भएको बताउँदै पार्टीभित्र राख्नुपर्ने विषय सार्वजनिकरूपमा लगिए स्पष्टीकरण सोध्दै कारबाही गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो।

सचिवालय बैठकले जनसंगठन, विभागका उपप्रमुख तथा सह–इन्चार्जहरू थप गरेको छ। हालसम्म जिम्मेवारी नपाएका नेताहरूलाई सविचालय बैठकले जिम्मेवारी दिएको छ। कानुन मन्त्री भानुभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखको जिम्मेवारी दिइएको छ। याे समाचार नेपाल समाचारपत्रमा छ ।