झापा- आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक यूवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।
राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेजका रुपमा काम गर्दै आएको बताउने गरेको प्रहरीको भनाइ छ । दुई पुरुषले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राईले आफ्नो बुबा अमेरिका बस्ने, आमा डाक्टर, दाजु पाइलट भएको परिचय दिई मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गर्ने गर्थिन् । लामो समय कुराकानी गरेपश्चात नजिक हुने र विवाह गर्नेसम्मको प्रलोभन देखाउने गर्थिन् । नजिक भएकाहरुसँग उनले विभिन्न आकस्मिक समस्या देखाई रकम मागी झुक्याएर ठगी गर्ने गर्थिीन् । रकम नदिएमा आत्महत्या गर्छु भनी उनले धक्कायने गरेको पीडितहरुको उजुरीमा उल्लेख छ ।




प्रतिक्रिया