टोकियो– जापानले रक्षा बजेट बढाएको छ । जापानको रक्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी रक्षा बजेट सार्वजनिक गरेको हो । रक्षा मन्त्रालयले सार्वजनिक गरेको बजेट गत बर्षभन्दा १.२ प्रतिशत बढी हो । उसले यो वर्ष ५० अर्ब अमेरिकी डलर रक्षामा बजेट विनियोजन गरेको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । जापानले विगत केही वर्ष यता रक्षा बजेटमा वृद्धि गर्दै आएको छ ।
उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर जापानले लडाकू विमान र क्षेप्यास्त्र प्रणाली समेत खरिद गर्ने तयारी गरेको छ ।
जापानले अमेरिकासंग ६ वटा अत्याधुनिक एफ ३५–बी लडाकू विमान खरिद गर्ने तयारी गर्नुका साथै सामरिक महत्वका युद्धपोतको सुदृढीकरणमा खर्च गर्ने योजना बनाएको बताइएको छ ।
उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गर्नु चीन र रुसले जापानी समुन्द्र आसपास सैनिक गतिविधि बढाएका कारण पनि जापानले आफ्नो प्रतिरक्षा बजेट वृद्धि गरेको हो ।
जापानी प्रधानमन्त्री आबेले जापानको सैनिक क्षमता सुदृढ गर्ने योजना अघि सारेका छन् । जापानी रक्षामन्त्रालयले जापानी सैनिक क्षमतालाई अन्तरिक्ष, साइबर र विद्युत–चुम्बकीय समेतका क्षेत्रसम्म पनि विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।
जापानको पछिल्लो समय दक्षिण कोरीयासंगको सम्बन्धमा चिसोपना आएको छ । दक्षिण कोरियाले जापानसंग सैनिक गुप्तचर सूचना आदानप्रदान गर्ने पुरानो सम्झौता खारेज गरेपनि यसले जापानी सैन्य सुदृढीकरणलाई कुनै असर नगर्ने जापानी अधिकारीहरुको दावी छ ।




प्रतिक्रिया