मलंगवा – साहुले ऋण लगानी गर्छ। तोकेबमोजिम ब्याज असुल्छ। समाजमा परम्परादेखि चल्दै आएको छ यो व्यवस्था। तर यस्ता साहु पनि भेटिए जसले ऋण लगानी गरेर मनलाग्दी ब्याज असुलेको छ। ऋण लिएभन्दा चार गुणासम्म बढी रकम राखेर ऋणीलाई तमसुक गराएको छ। नतिरे धम्की दिएको छ।
प्रशासन लगाएको छ। मुद्दा लगाएको छ। मानसिक तनाव दिएको छ र कतिलाई आत्महत्या गराउन विवश बनाएको छ। कुनै फिल्मका खलनायक जस्ता लाग्ने यस्ता साहु हुन् सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (परदेशी)। उनकै कारण एक–दुई जना मात्र हैन, झन्डै ३ सय जना पीडित बनेका छन्।
लालबन्दी नगरपालिका ३ की दुर्गा चौधरीले कलवारको ऋण तिर्न नसकेपछि तीन वर्षअघि आत्महत्या गरिन्। चौधरीले उनीबाट पति विदेश पठाउन तीन लाख ऋण लिएका थिइन्।
ऋण तिरिसक्दा पनि कलवारले अझै चारगुणा बाँकी रहेको भन्दै तनाव दिएपछि चौधरीले आत्महत्या गरेकी थिइन्। चौधरीले आत्महत्या गरे पनि उनको परिवार ऋणबाट मुक्त भएन। कलवारले दुर्गाका ससुरा श्रीकान्तलाई पनि नियमित दबाब दिन थाले।
मानसिक दबाब सहन नसकेपछि श्रीकान्तले पनि आत्महत्या रोजे। ‘खाना खाने बेला पनि टर्चर दिएकै छ। पाहुना आउँदा पनि टर्चर दिएकै छ। त्यसकारण दुर्गा र उनका ससुराले आत्महत्या गरे’, अर्का पीडित हरीशचन्द्र महतोले भने, ‘त्यो परिवार मात्रै होइन कलवारका कारण धेरै जना यस्तै अवस्थामा पुगेका छन्।’ यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया