चिनियां राष्ट्रपतिको नेपाल भ्रमणको तयारी: विदेशमन्त्री वाङ यी सेप्टेम्बर ८ मा नेपाल आउने 

चिनियां राष्ट्रपतिको नेपाल भ्रमणको तयारी: विदेशमन्त्री वाङ यी सेप्टेम्बर ८ मा नेपाल आउने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चिनियां विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने निश्चित भएको छ । चीनका राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारीको लागी चिनियां स्टेट काउन्सिलर समेत रहेका विदेशमन्त्री वाङ दुई दिने भ्रमणमा लागी काठमाडौं आउने निश्चित भएको हो । वेइजिङस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार विदेशमन्त्री वाङ सेप्टेम्बर ८ र ९ गते नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको हो । 

विदेशमन्त्री वाङले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसंग भेटवार्ता गर्ने तय भएको छ । 

परराष्ट्रमन्त्री ज्ञवालीले गत १८ असारमा चिनियां समकक्षी वाङ यीसंग भेटवार्ता गरेका थिए । ग्रेट हल अफ द पिपुलमा भएको भेटवार्ताका क्रममा उनीहरूबीच दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र आपसी सहयोग बढाउने बारेमा छलफल भएको थियो ।  सोही अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना समकक्षीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए । 

वाङको भ्रमण चिनियां राष्ट्रपतिको नेपाल भ्रमणको तयारीको लागी हुन लागेको बुझिएको छ । चिनियां राष्ट्रपति सी जिनफिङ अक्टोम्बर १२ मा तीन दिने भारत भ्रमणमा जाने तयारीमा छन् । फर्कदा उनले नेपालको भ्रमण गर्ने गरी तयारी भइरहेको परराष्ट्र स्रोतको दावी छ । 

चिनियां राष्ट्रपति सी करिव ९ घण्टाका लागी नेपाल आउने कार्यक्रम छ । भारतको भ्रमण सकेर नेपाल हुंदै चीन जाने तयारी भइरहेको परराष्ट्रका एक उच्च अधिकारीले जानकारी दिएका छन् । त्यसका लागी सुरक्षा निकायले समेत तयारी सुरु गरिसकेका छन् । चीनबाट समेत एडभान्स टोलीले नेपालको गोप्य भ्रमण गरेर बेइजिङ फर्किसकेको छ । 

वाङको नेपाल भ्रमणपछि राष्ट्रपति सीको भ्रमणलाई औपचारीकता दिने गरी तयारी भइरहेको स्रोतको दावी छ । ‘विदेशमन्त्री वाङको भ्रमणपछि सेप्टेम्बर अन्तिममा औपचारीक रुपमा राष्ट्रपतिको नेपाल भ्रमणको मिति घोषणा हुन्छ,राजनीतिक परिस्थिती तलमाथी भएन भने उच्चस्तरबाटै नेपाल भ्रमण हुने निश्चित भइसकेको छ ।’ राष्ट्रपति भ्रमणको तयारीमा जुटेका एक अधिकारीले काठमाडौंपाटीसंग भने । 

परराष्ट्रमन्त्रीको पछिल्लो भ्रमण अघि राष्ट्रपति विद्यादेवी भण्डारीले ११ वैशाखमा चीनको राजकीय भ्रमण गरिसकेकी छिन् । राष्ट्रपति भण्डारीलाई चिनियां समकक्षी सि जिङपिङले ग्रेट हलमा स्वागत गरेका थिए, भने राष्ट्रपति स्तरमा भएको वार्तामा दुई देशबीच विभिन्न सात वटा सहमति तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यसअघि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामबरण यादवले चीनको भ्रमण गरेपनि उनले राजकीय सम्मान भने पाएका थिएनन् ।

भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ पुगेकी थिइन् । शिखर सम्मेलनले ३८ बुंदे घोषणापत्र जारी गरेकोमा उपशीर्षकको २३औं नम्बरमा नेपाल–चीन सीमापार रेलवेका साथै नेपाल–चीन हिमालपार बहुआयामिक सम्पर्क सञ्जाल स्थापना गर्ने विषय उल्लेख छ।  सी को नेपाल भ्रमणका क्रममा रेलवेको मुद्दाले प्राथमिकता पाउने अपेक्षा छ । 

चिनियां राष्ट्रपति सिसंगको भेटमा राष्ट्रपति भण्डारीले चिनियां राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो समेत दिएकी छन्। 

जवाफमा चिनियां राष्ट्रपति सीले भ्रमणको निम्तो दिएकोमा धन्यवाद व्यक्त गर्दै नेपाल जस्तो सुन्दर देशको भ्रमण गर्नु ठूलो महत्वको विषय भएको बताएका थिए । 

भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले समकक्षी सीलाई नेपाल भ्रमणको निम्तो दिंदा उपयुक्त समयमा नेपालको भ्रमण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका  थिए । सीले नेपाल सरकारले अगाडि सारेको ‘सम्वृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई मूर्त रुप दिनका लागि चिनियां सहयोग रहने बताएका थिए ।  

चिनियां विदेश मन्त्री वाङले यसअघि  सन् २०१४ मा नेपाल भ्रमण गरेका थिए। नेकपाका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि चीनवाट वाङको भ्रमण नै सवैभन्दा माथिल्लो तहको भ्रमण हो    नेपालको तर्फबाट तीनवटै तहको निर्वाचनपछि गठन भएको सरकारको मन्त्रीस्तरीय चीन भ्रमणको सुरुवात परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए । 

‘चीनको प्रभाब नेपालमा मात्र होइन विश्वमा नै फैलिरहेको छ’