रसुवा – केरुङमा सामान लोड गर्न खाली कन्टेनर नहुँदा नेपाल ल्याउन लागिएका दसैं र तिहारका सामान गोदाममै थन्किएका छन् । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने सडक अवरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो ।
‘अहिले केरुङमा सामान लोड गर्नका लागि खाली कन्टेनर छैनन्,’ व्यापारी धर्म पौडेलले भने, ‘दसैं र तिहारका धेरै सामान गोदाममै थन्किएका छन्।’ कालिका गाउँपालिका–१ नाकुरदुङमा भदौ २५ गते साँझ सडक भासिँदा पासाङल्हामु मार्ग अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा सामान लिन खाली कन्टेनर केरुङ जान पाएका छैनन्।
राजधानीलगायत मुलुकका मुख्य बजारहरूमा चिनियाँ सामानकै वर्चस्व छ। दसैंमा चिनियाँ तयारी पोसाकको बढी माग हुने गरेको छ। दसैंका लागि चिनियाँ तयारी पोसाक यसै नाकाबाट भित्रिन्छन्।
बिहीबार केरुङमा ५–६ वटा कन्टेनरमा सिल गरिएको जानकारी आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए। ‘रसुवागढी नाकाबाट दसैं र तिहारमा बिक्री हुने रेडिमेडका सामान बढी आयात हुने गरेका छन्,’ उनले भने। दसैं र तिहारका लागि मात्र रसुवागढी नाकाबाट करिब ११ सय देखि १२ सय कन्टेनर सामान आयात हुने गरेको छ। याे समाचार कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया